काठमाडौं । गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी (परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६) किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई लखेट्दै र घेरा हाल्दै कुटपीट गरी मारेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् ।
ती किशोरीले जेठ २७ गते दिएको बयानमा घटना भएको दिन आफू घरमै टिभी हेरेर बसेको पनि भनेकी छन् । उनले घटनाबारे प्रहरीलाई दिएको बयानमा मृतक नवराज बिकले २०७५ साल फागुन महिनामा आफूलाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका र आफूले स्वीकार गरेको पनि बयानमा उल्लेख गरेकी छन् । ‘२०७७ जेठ १० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिएँ, मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनुभएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाएर बाहिर आउँदा गाउँका महिलाहरु जम्मा भएका थिए । तर, मैले केटाहरुलाई देखिनँ,’ किशोरीले बयानमा घटना भएको दिनबारे यसरी खुलाएकी छन् ।
उनले आफू घटनास्थलमा नगएको र सो दिन दिउँसो केकसो भयो भन्ने पनि आफूलाई थाहा नभएको पनि बताएकी छन् । ‘सोही दिन साँझ डिल्ली मल्ल मेरो घरमा आएर दुई जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ,’ नवराजकी प्रेमिकाले भनेकी छन् । ‘जेठ ११ गतेमात्रै साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज बिकको मृत्यु भएको सुनेको र पछि बुझ्दा आफ्नो बुवा र दाइ समेतले नवराज बिकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ,’ युवतीले बयानमा प्रस्ट भनेकी छन् ।
उनले फेसबुकमा नवराज विकसँग जोडिएको मितिबाटै साथी भएर कुराकानी र भेटघाट हुने गरेको पनि खुलाएकी छन् । नवराज विकसँग परिचय हुँदै गएपछि २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएको र सो रात उनकै घरमा बास बसेर भोलिपल्ट आफ्नो घर फर्केको किशोरीले जनाएकी छन् । किशोरीको भनाइअनुसार नवराजकी बहिनी पुजा उनकी साथी थिइन् । किशोरीले बयानमा २०७६ पौष महिनामा पनि नवराजको भाइको जन्मदिनमा दोस्रो भेट भएको बताएकी छन् । तर त्यो भेटको गते भने आफूलाई एकिन नभएको उनले दिएको बयानमा उल्लेख छ ।
‘मृतक नवराज बिकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकासमेत भेट भएकाले सो दिनसमेत मृतककै घरमा गई सुति भोलिपल्ट घर गएकी हुँ,’ उनले नवराजसँगको दोस्रो भेटबारे खुलाएकी छन् । ‘सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए, निजको घरमा बसेको त्यति नै हो, मलाई मिति एकिन भएन,’ उनले नवराज र आफूबीचको सम्बन्ध र विवाहबारे भएको चर्चाबारे पनि खुलाएकी छन् । उनले त्यसपछि मृतक नवराज बिकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याएर आफ्नो घरमा आएको भन्दै आफू र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देखेको बताएकी छन् ।
‘भोलिपल्ट बिहान पनि निज नवराज बिकसमेत मेरो घर नजिकै हिँडिरहेको देखि मेरो बुवा आमा समेतले सम्झाई आफ्नो घरतर्फ पठाएकोमा २०७७ साल बैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु बिकलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिन गाउँले भनेको सुनेकी थिएँ,’ युवतीले बयानमा भनेकी छन् । त्यस्तै उनले मिति २०७७ बैशाख १७ गते राति ८, ९ बजे नवराजले अन्य २ जना साथी ल्याई आफ्नो घर नजिकै आएको र आफ्ना बुवा, आमाले वडाध्यक्ष डम्बरबहादुर मल्ल र विनोद मल्ललाई खबर गरेपछि गाउँलेहरुले नवराजलाई नियन्त्रणमा लिएर राति नै प्रहरीलाई बुझाएको बताएकी छन् । उनले नवराज आफ्नोे घरमा आएर नबस्ने गरेको पनि बताएकी छन् ।
यो पनि…
सत्यपाटी ।