सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशमा ३३ अर्ब ७० करोडको बजेट, नयाँ गाडी नकिन्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा नयाँ गाडी नकिन्ने निर्णय गरेको छ । सोमबार कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आगामी आर्थिक वर्षमा सरकारी खर्चमा एम्बुलेन्स बाहेकका सवारी साधन खरिद नगर्ने घोषणा गरिएको छ ।

यस्तै, आर्थिक वर्ष ०७७/७८ मा नयाँ संगठन संरचना पनि स्थापना नगर्ने निर्णय गरिएको छ । प्रदेशको न्यून आन्तरिक स्रोत, अन्तरसरकारी वित्त स्थानान्तरणबाट प्राप्त स्रोतमा हुने संकुचन र कोभिड–१९ का कारणले उत्पन्न परिस्थितिलाई ख्याल गर्दै प्रशासनिक खर्चमा कटौती गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

यस्तै, आगामी आर्थिक वर्षमा मन्त्री, राजनीतिक कर्मचारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च तथा जोखिम भत्ता समेत कटौती गरिएको छ । कार्यक्रम सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर लगायतका शिरोभार खर्चमा पनि ६० प्रतिशत खर्च कटौती गरिएको छ । आर्थिक वर्ष ०७७/७८ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७० करोड बजेट ल्याएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १९:१३