सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिक क्षेत्र बाँडफाँडमा राजपाभित्र विवाद


काठमाडौँ । राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँडमा लाग्दैछ । नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ ।
समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त विवाद किनारा लगाउन सोमबार अपराह्न १ बजेका लागि बैठक बोलाएको भए पनि नेताहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो ।
राजपाका महासचिव केशव झाले बैठक मंगलबार पुनः बसी समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिँदै समानुपातिक स्थान बाँडफाँडमा दलभित्र सामान्य विवाद रहेको स्वीकारे । केही नेताहरू काठमाडौँ उपत्यका बाहिर रहेको र प्रतिकूल मौसमका कारण विमान उड्न नसकेका कारण पनि राजधानी आउन समस्या भएको बुझिएको छ ।
राजपाले प्रदेशसभा समानुपातिकमा १२ स्थान जितेको छ । सोअनुरुप प्रदेश नं २ मा १० तथा प्रदेश नं ५ र ७ मा एक एक स्थान पाएको छ । राजपाले प्रतिनिधिसभातर्फ प्रदेश नं २ मा १० र प्रदेश नं ७ मा एक गरी ११ स्थान जितेको छ । रासस

प्रकाशित मिति : ११ पुष २०७४, मंगलवार ०५:०३