सूचनाको शक्ति - The Power Of Information

        

यार्सागुम्बा टिप्न पाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बझाङ । यार्सागुम्बा लगायतका जडीबुडी संकलनको माग गर्दै उद्योग वाणिज्य संघ बझाङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । देशभर लकडाउन खुकुलो भई उद्योगदेखि डिपार्टमेन्टल स्टोरसम्म खुला भएको अवस्थामा यार्सा तथा जडिबुडी संकलनका लागी वन क्षेत्र खुला गर्न माग गर्दै जिल्ला प्रसासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

बझाङको ५० प्रतिशत आर्थिक भार जडिबुडीले धानेको छ । बझाङमा पाइने बहुमुल्य जडीबुडी, यार्सागुम्बा, वन लसुन, चिराईतो, कटुकी, सतुवा रातोच्याउ, भोजपत्र, दालचिनी लगायतका जडिबुडी संकलन बाट आफ्नो गुजरा चलाउदै आएका छन । आर्थिक भार चलायमान गर्नका लागि सरकारले गरेको लकडाउनका कारण यार्सागुम्बा लगायत बैधानिकरुपमा संकलन गर्न पाउने जडिबुटि संङकलन गर्न नपाउदा बझाङीवासीमा आर्थिक समस्या हुने चिन्ता छाएको छ ।

उच्च हिमाली भेगका स्थानीयबासीहरुको आउँदो आर्थिक बर्षमा घरघरमा चुलो बाल्नसमेत समस्या हुने बताएका छन् । विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमण फैलन नदिन लकडाउन भएको समयदेखि जडिबुडी संकलनमा पनि रोक लगाइएको थियो । यार्सा संकलन गर्ने समयसम्म लकडाउन नखुलेपछि आर्थिक भार पर्ने सम्भावना बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । उनले ६० प्रतिशत जिल्लाबासीहरु जडीबुडी संकलन गरी विक्री गरेको पैसाले आफ्नो घरखर्च तथा छोराछोरीको पढाई खर्चको जोहो गर्ने गरेको बताए ।

उनले भने, ‘यसपाली लकडाउन भएका कारण जडिबुडी जडीबुडी संकलनबाट आफ्नो परिवारको गुजारा गर्दै आएका यस भेगका स्थानीयहरुमा आर्थिक संकट हुने देखिएको छ । बेलाबेलामा उद्योग वाणिज्य संघमा वन खोल्नका लागी पहल गरिदिन आग्रह गरेकाले हामीले ज्ञापनपत्र बुझाएका हौं ।’ बझाङको बुङगल नगरपालिका, सुर्मा, साइपाल, तल्कोट, छविसपाथीभेरा, दुर्गाथली लगायतका पालिकाबासीहरुको मुख्य आम्दानीको स्रोत जडीबुडी रहेको छ ।

जडिबटिलेनै बझाङको राजश्वमा टेवा पुर्याएको र बझाङ जिल्लाका नगरपालिका, गाउँपालिकाका हिमाली वडाहरुमा क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिको स्वास्थ्य परिक्षण गरि यार्सागुम्बा लगायत यस जिल्लामा मान्यता प्राप्त जडिबुटी यथासिघ्र सङ्कलन गर्नै ब्यवस्था मिलाउन प्रधानमन्त्रीलाई जिल्ला प्रसासन कार्यालय बझाङमार्फत बझाङ उद्योग वाणिज्य संघले आइतबार ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १७:३७