सूचनाको शक्ति - The Power Of Information

        

जंगली हात्तीको बथानले बनायो विद्युत् टावर क्षतिग्रस्त, अन्धकारमा पश्चिम नेपाल


बाँके । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने शम्शेरगन्ज नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी डबल सर्किट सस्पेन्सन प्रशारण टावर जंगली हात्तीको बथानले भत्काइदिँदा नेपालगन्जसहित पश्चिम नेपालमा विद्युत सेवा अवरुद्ध भएको छ ।
जंगली हात्तीको बथानले प्राधिकरणको ४८५ नम्बरको टावरमा क्षति पुर्याएकाले विद्युत सेवा प्रभावित भएको प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेशकुमार झाले जानकारी दिए । टावर क्षतिग्रस्त भएर विद्युत् सेवा प्रभावित हुँदा सो क्षेत्रका उपभोक्ता समस्यामा परेका छन् ।
टावर क्षतिग्रस्त भएकाले टनकपुर बाहेक नेपालका अन्य स्थानबाट उत्पादन भएको विद्युत् नेपालगन्ज, कोहलपुर, भुरीगाउँ, अत्तरिया, पहलवानपुर लगायतका सवस्टेशनमा पुर्याउन नसक्दा पिक आवरमा १५ मेगावाटसम्म विद्युत् अपुग भई कटौती गर्नुपरेको प्रमुख झाले बताए ।
नेपालका अन्य स्थानबाट उत्पादन हुने विद्युत् टावरका कारण उपलब्ध हुन नसकेका कारण टनकपुर र भारतको नानपारबाट आएको विद्युत् मात्रै वितरण गरिएको छ । क्षतिग्रस्त टावरको मर्मतका लागि विद्युत् प्राधिकरण अत्तरिया ग्रिडबाट इन्जिनियरसहित १५ जना प्राविधिकको टोली खटिएको छ । मर्मत गरी विद्युत् सेवा दुरुस्त गर्न अझै एक साता लाग्ने प्रमुख झाले जानकारी दिए ।
१३२ केभी डबल सर्किट सस्पेन्सन प्रसारणको टावर करिब ३० मिटर अग्लो हुन्छ । एउटा टावर निर्माण गर्दा २५ देखि ३० लाख रुपैयाँसम्म लाग्ने उनले बताए । पछिल्ला दिनहरुमा हात्तीको बथानले बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लगाइएको खेतीबालीमा नोक्सान पुर्याउनुका साथै घरहरु भत्काइदिने गरेको छ ।

प्रकाशित मिति : ११ पुष २०७४, मंगलवार ०४:२९