सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाका १७ जना घर फर्किए, थप दुई संक्रमित

बाँके । बाँकेको डुडुवा गाउँपालिका अन्तरगत रहेका दुई वटा आइसोलेशन केन्द्रबाट १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । डुडुवा गाउँपालिका–१ सन्तलियास्थित आइसोलेशनबाट १० जना र वडा नं. ४ को शाहपूर्वा आइसोलेशनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम घर पठाइएको हो ।

उनीहरु सबैलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले विदाई गरे । डुडुवा गाउँपालिकामा पुराना कुल २५ जना कोरोना संक्रमित सबै घर फर्किसकेका छन् । यसैगरि डुडुवामा आज आइतबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

डुडुवा गाउँपालिका वडा नंं १ का १९ वर्षिय पुरुष र वडा नं. ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालको रिपोर्टमा उल्लेख छ । संक्रमित दुबै जनालाई पालिकाको वडा नं. ४ स्थित आधारभुत विद्यालय शाहपुर्वको आइसोलेशन वार्डमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार १७:४८