आशिष मल्ल, डडेल्धुरा । सुुदूरपश्चिममा बुन्ढुनी पर्वको रौनक बढेको छ । बुन्ढुनी पर्व हरेक वर्ष असोज सङ्क्रान्तिका दिन मनाइन्छ । राक्षसनी पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिम क्षेत्रमा यो पर्व मनाउने गरिएको छ । यो पर्वमा गाईवस्तु हेर्ने गोठालाहरुले संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझलगायतका रुख काटेर बनाएको लिंगो (बूढी)लाई असोज संक्रान्तिका दिन पोल्ने चलन छ । द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा उल्टै राक्षसनी पुतनाको रगत चुसी मारेको विश्वासमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ ।
राक्षसनी पुतनालाई दहनका लागि शनिबार साँझ सबै घरबाट काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बूढी पोल्ने ठाँउमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तीलक गाईलाई लगाउने चलन पनि रहेको छ । बूढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने गर्दछन र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान समेत गर्छन् । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा पुशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ । पुत्ला दहन गर्दा ‘बूढीलाई पोल गाईबाच्छा पाल’ भनेर भन्ने गरिन्छ । यो पर्व डडेल्धुरालगायत सुदूरपश्चिमको बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र भारतको उत्तराञ्चलका कुमाउ गढवालमा पनि मनाउने चलन छ ।
।