सूचनाको शक्ति - The Power Of Information

        

बाढीले बगायो चुनबाङ बसपार्क

रुकुम(पूर्व) । निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व)को भूमे गाउँपालिका–९ चुनबाङमा लाखौंको क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले चुनबाङको एकमात्र बसपार्क बगाएको छ ।

बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई घट्ट र एउटा गुम्टी पसल बगेका छन् । लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए ।

स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ । चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताए ।

शुक्रवारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिए । बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहुँदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार ११:४६