सूचनाको शक्ति - The Power Of Information

        

सङ्कटका बेला सामाजिक कार्यमा युवाको सक्रियता

भारतबाट फर्किने नेपालीहरुका लागि खाना बनाउने तयारी गर्दै कञ्चनपुरका युवाहरु । तस्वीर : राजेन्द्र नाथको फेसबुकबाट

भारतबाट फर्किने नेपालीहरुका लागि खाना बनाउने तयारी गर्दै कञ्चनपुरका युवाहरु । तस्वीर : राजेन्द्र नाथको फेसबुकबाट

कैलाली । कोभिड–१९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा युवाको सक्रियता निकै बढेको देखिन्छ । कैलाली जिल्लाका विभिन्न स्थानमा युवाले समूह बनाएर सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् ।

यस क्रममा युवाले कतै क्वारेन्टिनमा रहेकालाई खाजा खुवाउँदै छन् त कतै क्वारेन्टिन व्यवस्थापनको सबै जिम्मा नै युवाले लिएका छन् भने क्वारेन्टिनस्थलमै मनोपरामर्श पनि युवाले दिइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी क्लबमा आबद्ध युवा नगरभित्र रहेका विभिन्न क्वारेन्टिनमा खाजा खुवाउने कार्यमा मेहनतका साथ लागिरहेका छन् ।

नगरपालिकाले क्वारेन्टिनमा बसेकालाई खाजा, खाना खुवाउन छोडेपछि क्वारेन्टिनमा बसेकाबाट गुनासो आउन थालेका कारण सबैभन्दा पहिले घोडाघोडी क्लबका पूर्वखेलाडी राजेश हमालको पहलमा खाजा खुवाउने कार्यलाई तीव्रता दिइएको क्लबका अध्यक्ष अर्जुन भट्टले जानकारी दिए । ‘शुरुमा हामीले विद्यालयमा बनाइएका क्वारेन्टिनमा रहेका दाजुभाइ दिदीबहिनीलाई खाजा खुवायौँ । त्यसपछि हामीले सकेसम्म सहयोगी हातहरू खोजेर हरेक क्वारेन्टिनमा खाजाको व्यवस्था गरिरहेका छौँ,’ क्लबका उपाध्यक्ष होम तामाङले भने ।

कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित तीनवटा विद्यालयमा सञ्चालित क्वारेन्टिनमा हरेक दिन बिहान युवाकै सक्रियतामा योग प्रशिक्षण र व्ययामका अन्य कार्यक्रम हुन्छ । ‘भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दा उनीहरुलाई मानसिक तनावको समस्याले नसताओस् भन्ने सोचका साथ सम्भव भएसम्म राम्रो गर्ने प्रयास गरेका छौँ,’ वडामा युवाको नेतृत्व गरिरहेका मिलन ओलीले भने । गौरीगङ्गा नगरपालिका–९ कि सीता भण्डारी मनोविमर्शकर्ता रहेकी छिन् । उनी विगत लामो समयदेखि काठमाडौँलाई आफ्नो कार्य क्षेत्र बनाएर यस क्षेत्रमा लागिरहेकी छिन् ।

तर लकडाउनले गर्दा घरमै रहेकी भण्डारी क्वारेन्टिनमा रहँदा मानिसमा मानसिक तनाव बढ्दै गएको, पारिवारिक चिन्ताले गर्दा समस्या थपिँदै गएको र यस्ता किसिमका चिन्ताले अपराध गर्न मनोभाव बढ्न सक्ने अवस्था रहेको भन्दै स्थानीयस्तरमा सञ्चालनमा रहेका क्वारेन्टिनस्थलमै पुगेर मनोपरामर्श दिइरहेकी छिन् । विपतका बेला आफ्नो ठाउँमा आफूमा भएको सीप प्रयोग गरेर सहयोग गर्नु सबैको कर्तव्य भएको हुनाले आफ्नो कर्तव्य पूरा गरेको भण्डारीको भनाइ छ ।

कोरोना महामारीको अवस्थामा युवाको सक्रियतामा सामाजिक कार्य हुनु सुखद भएको गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले बताइन् । सङ्कटमा सरकार त आफ्नै ढङ्गबाट लागिरहेको हुन्छ नै तर युवाले पनि हातमा हात मिलाएर अघि बढ्दा समाजमा झनै सकारात्मक सन्देश जाने उपप्रमुख चौधरीको भनाइ छ । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १६:४९