एकजना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसल मिडियामा लेखेछन्, ‘सरकारलाई दवाब दिनुपर्यो । सरकारले कोरोना संक्रमण नियन्त्रणमा राम्रो काम गर्न सकेन । सडकमा जानुपर्छ को–को तयार हुनुहुन्छ ?’ लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै बस्नबाध्य किशोर किशोरी तथा युबा युवतीलाई घरबाट बाहिर निस्कने, आफ्नो नैरस्यता, असन्तुष्टि पोख्ने, युवा स्वाभाव अनुसार कान्तिकारीपन देखाउने, सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुनेजस्ता कुराले उत्प्रेरित गर्यो । कोरोनाको संक्रमणलाई समेत भुलेर घेरै युवा सडकमा आउन राजी भए ।
सोसल मिडियाको पहुँचमा भएका युबा माझ यो संदेश फैलिन समय लागेन । पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असन्तुष्टी पोखे । त्यस कार्यक्रमले सर्वदा चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको बिरोध र टिकाटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि बिरोध भए । अर्को पटकको बिरोधमा त सामाजिक दुरीको पनि ख्याल नगरी ठूलो भीड सडकमा आयो । कोरोनाको संक्रमण फैलिएला कि भन्ने भय पनि बढ्यो । संसारभरि नै सरकार र जनताबीच हकअधिकारका बिषयलाई लिएर सधैंजसो टसल परिरहेको हुन्छ । राज्यले समान्य अवस्थामा त जनतालाई सन्तुष्ट बनाउन सकेको हुँदैन । बिपत्तिको अवस्थामा त झन् कठिनै हुन्छ ।
अहिले धेरैलाई बिरोजगार हुने, रोगजारी गुम्ने चिन्ताले सताएको छ । मानिसले आफुलाई असुरक्षित महसुस गरिरहेका छन् । यस्तो अबस्थामा मानिसमा चिटचिटाहट, रिस, उत्तेजना, आक्रोश, राज्य र सरकारप्रति असन्तुष्टि, बिरोधी भावना बढेर जान्छ । ब्यक्तिले कहिलेकाहीँ उदण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने, एकअर्कालाई आरोप प्रत्यारोप गर्नेजस्ता ब्यवहार पनि देखाउन सक्छ । यस्ता ब्यवहार देखाए आफ्नो डर, त्रास, नैरस्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुँदैन । बिपद् र दुखको अवस्थामा नै मान्छेले अरुबेला भन्दाबढि माया र सहानुभूति खोज्ने गर्दछ ।
जनताले राज्यबाट पनि अझ बढि साथ सहयोगको आशा गर्दछ । अफ्ट्यारो अवस्था र अभावमा जनता चाडो भड्किन्छन् । उनीहरुलाई भडकाउन सजिलो हुन्छ । उनीहरुको भावनामाथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ । संकटको बेलाको मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नो तर्फबाट जनताको मागलाई सक्दो सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आस्वस्थ गराउन सक्नुपर्छ । भविश्यप्रति ढुक्क र आशावादी बनाउने काम, राज्यले गर्नुपर्छ । कुरा सत्य हो कि अहिले बिश्व नै कोरोनाको संक्रमणले ठुलो मारमा परेको छ । कतिपय बिषयमा हाम्रो समस्यहरु अझै ठूलो हुनसक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो बिमत्ति होला । हामी असन्तुष्ट हुन सक्छौं ।
सरकारका पनि आफ्नै खालमा कमी कमजोरी र बाध्यताहरु होलान् । यी सबैका बावजुत पनि अहिलेको परिस्थितिलाई राजनीतिककरण गरिनुहुँदैन । सरकारका कमीकमजोरीहरुलाई केलाएर मात्र बस्नुहुँदैन । साथ र सहयोग पनि गर्नुपर्छ । बिपत्तिसँग सबै मिलेर सामान गर्ने हो भने मात्र सफल भइन्छ । कतिपय अवस्थामा बिरोधले मात्र समस्याको समधान नहुन सक्छ । बिरोधको शैली र समय पनि अनुकुल हुनुपर्छ । अहिलेको अवस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्वीकार नै गरेका छन् । भोको मान्छेको आगामी मिठो ब्यन्जनको कुरा गर्दा कसको मुख नरसाउला र ? तर कोरोनाको संक्रमण तीब्ररुपमा बढि रहेका बेला गरिएको बिरोध प्रदर्शनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिँदैन ।
स्वस्फूर्त निस्केका भनिएका यस्ता आन्दोलनहरु सहि दिशानिर्देश नपाउदा खतरनाक पनि हुनसक्छन । नैतिक जिम्मेवारी कसले लिने भन्ने दुबिधा हुन्छ । नेतृत्व बिनाको जमात हुनाले चाँडै भडकिन सक्ने खतरा पनि त्यति नै हुन्छ । यसमा जो सुकैले सजिलोसँग घुसपैठ गर्नसक्ने ठाउँ पाउँछ । युवाहरुको अस्तीको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताएका छन् । घुसपैठले नै पछिल्लो पटकको बिरोध अमर्यादित भएको देखिन्छ । भीडको मनोविज्ञान फरक हुन्छ, भीडको आँखा हुँदैन । भीडले विबेक गुमाउन सक्छ । भनिन्छ नि भीडभाडमा जीउ जोगाउनु, अनिकालमा बीऊ जोगाउनु । भीडले ज्यान दिन पनि सक्छ । ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुखद् घटनामा ६ जना किशोरहरुको ज्यान गयो । यो सबै भीडकै मनोविज्ञानको परिणाम हो ।
अहिलेको विभिन्न ठाउँहरुमा स्वस्फूर्तरुपमा गरिएको भनिएका बिरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजनाबिहिन बिरोध कार्यक्रमले पछि गएर दुखद् मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ । रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथीमार्फत बेहुली लिन सघाउने भन्दै एकआपसमा चिनजान समेत नभइकन लहलहैमा लागेर गएको पाइयो । अहिलेको बिरोध प्रदर्शनलाई हेर्दा पनि किशोरकिशोरीमा उत्ताउलोपन उनीहरुले लेखेको नारामा देखिन्छ । धेरै जना लहलहैमा लागेर आएको हुनसक्छ । उनीहरुले बेकेको प्लेकार्डमा पनि लेखिएछ, ‘म त राम्री केटी हेर्न आको !’ भीडले के बुझ्छ, के गर्छ थाहा हुँदैन । रुकुमको घटनामा पनि त्यतिधेरै गाउँले छोटो समयमा कसरी आए ?
पूर्वयोजना पो थियो कि भन्ने आशंका पनि गरिँदै आएको देखिन्छ । तर भीड जम्मा हुन समय नलाग्न सक्छ । अस्तिको बिरोध प्रदर्शनमा पनि यतिधेरै जम्मा होला भन्ने कुरा स्वंय प्रदर्शनको आव्हान गर्नेहरुलाई पनि अनुमान गरेका थिएनन् । यसलाई देखेर उनीहरु आफै चकित परिरहेका छन् । तर अप्रत्यक्ष रुपमा केही पाटीले सघाई रहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई थाहा नहुन पनि सक्छ । बिरोधमा उत्रिएका प्रदर्शनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ । नेता र राजनिति दलहरुलाई भीडको स्वभावैले लोभ लाग्छ । प्रदर्शनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले बिज्ञप्ती निकालेर नै समर्थन गरे । प्रर्दशनको नेतुत्व गरेका कतिपय युबाहरुलाई आफ्नो पार्टीमा आउनका लागि निम्ति पनि पठाउन भ्याइसके ।
जुन कुरा स्वयं युवाहरुले बताइसकेका छन् । पार्टीहरु यस आन्दोलनलाई आफ्नो बनाउन खोजी पनि रहेका छन् । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएका छन् । कोरोना महामारीको बेला खुलेरै पार्टीको झण्डा बोकेर सडकमा आउँदा नैतिकरुपमा पनि अफ्ट्यारो पर्ने, जनतामा पनि नकारात्मक सन्देश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएका हुन् । अन्यथा यसले पार्टीगत रुप लिइसकेको हुने थियो । तर पनि यस परिस्थिति बिपरितको बिरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन् । अहिलेको अफ्ठ्यारो अवस्थामा सबैले आफुलाई समाल्नु, संयमित हुन, मिलेर समस्याको समधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने, अर्काको भवनामाथि खेलवाड गर्ने कार्यले कसैको हित हुँदैन । (लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)
गोपाल ढकाल, मनोविद् ।