सूचनाको शक्ति - The Power Of Information

        

बडघर तथा चौकिदारलाई नेतृत्व विकास सीप र मोबाइल


बर्दिया । बर्दियामा स्थानिय तहको सहयोगमा वडाका बडघर तथा चौकीदारहरुको नेतृत्व विकास सम्बन्धी जानकारी गराउन अभिमुखिकरण गरिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको ३ नंं वडा कार्यालयले ३ नं वडाका ७ वटै गाउँका बडघर तथा चौकीदारहरुको सहभागीतामा नेतृत्व विकास तथा समन्वयात्मक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
नगरपालिकाबाट आउने योजनाहरुको कार्यान्वयन तथा सञ्चालनका लागि वडास्तरबाट उपभोक्ता समूह गठन गर्ने तयारी भएकाले वडास्तरमा निर्माण हुने उपभोक्ता समूहको समन्वय तथा सहजीकरणका लागी बडघर र चौकीदारहरु संग अन्तरक्रिया तथा समन्वयात्मक कार्यक्रम गरेको वडा अध्यक्ष श्रीकृष्ण थारुले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धी जानकारीका साथै निर्माण हुने उपभोक्ता समूहको बारेमा जानकारी समेत गराईएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारुले आफुहरु वडाबासीहरुको सेवाका लागी निर्र्वािचत भएकोले उपलब्ध स्रोत साधनको प्रयोगबाट आफुहरुले सक्ने सम्मको सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेका बताए ।
स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि छानिएर कार्य संचालन गर्दै आइरहेको र जनप्रतिनिधि सबै ठाउँमा पुग्न नसकि रहेको अवस्थामा बडघर तथा चौकिदारमार्फत सबैमाझ पुग्न सजिलो हुने बताईएको छ । वडा कार्यालयबाट प्रबाह हुने सुचना तथा सेवाका कार्यक्रमहरुलाई स्थानियहरुमा सहज अनि छिटोछरितो प्रबाह गर्नका लागी गाउँका हरेक बडघरहरुलाई वडा कार्यालयबाट मोबाईल समेत उपलब्ध गराईएको छ ।
जसका कारण वडा कार्यालय तथा बडघर र चौकीदारहरु बिच प्रत्यक्ष सम्पर्क रहने भएको हुनाले स्थानिय स्तरमा सेवा पु¥याउन सहज हुने वडा कार्यालयले विश्वास लिएको छ । कार्यक्रममा फरक प्रसंगमा बोल्दै आफुलाई कुनै पार्टी विशेषको कार्यकर्ताको रुपमा नभएर नगरपालिकाको प्रमुखको रुपमा मात्र हेर्न नगरप्रमुख घननारायण श्रेष्ठले आग्रह गरे ।
नगरपालिकालाई उत्कृष्ठ बनाउनका लागी गाउँ स्तरहरुबाट नै परिवर्तनहरु हुनु पर्ने बताउँदै ३ नं वडा तथा समग्र नगरपालिकालाई नै नमूना वडा बनाउन वडा र वडाबासी लाग्नु पर्ने भन्दै समूहगत रुपमा कार्य गर्नु पर्ने र आपसी सदभाव कायम गर्दै अघि बढ्नु पर्ने नगरप्रमुख श्रेष्ठले बताए ।
बडघर, चौकिदार तथा ३ नं. वडाका जनप्रतिनिधीहरुको सहभागीतामा संचालित कार्यक्रम वडा सचिव सानी मल्लले गरेकि थिईन भने नगर प्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता, नगरपालिकाका योजना शाखा प्रमुख चक्रपाणी आचार्यको विशिष्ट आतिथ्यता र वडा अध्यक्ष श्रीकृष्ण थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ पुष २०७४, मंगलवार ०४:१३