भैरहवा । भारतको नयाँदिल्लीस्थित तालकोटा रंगशालामा पुस १३ र १४ (डिसेम्बर २८ र २९)मा हुन गईरहेको तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किक बक्सिङ्ग च्याम्पियनसीप प्रतियोगिताको लागी नेपालबाट भाग लिने खेलाडी छनौट सार्वजनिक गरिएको छ । भैरहवामा पत्रकार सम्मेलन गरी नेपालको तर्फबाट दिल्लीमा हुन गईरहेको प्रतियोगितामा भाग लिने प्रतियोगी र अफिसियल सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा पश्चिमान्चल करातें महासंघका अध्यक्ष भरत बहादुर के.सी. र जापन गोजु रियो कराते डो मिसन संघ नेपालका चिफ कोच तथा फाउन्डर केबि राना (काजी)को नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो । नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दीभ्सका खेलाडीबीच हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट १२ वर्ष उमेर समुहमा शाहिल गुरुङ्ग (२५ केजी समुह), प्रियंका थापा (४० केजी समुह), प्रशान्त थापा (३० केजी समुह) र प्रसुन शाही (३५ केजी समुह)ले प्रतिसपर्धा गर्ने भएका छन् ।
यसैगरी १४ वर्ष उमेर समुहमा दिविन गुरुङ्ग (३५ केजी समुह) कृतिमा गौतम (४० केजी समुह), रिजन पाण्डे (४० केजी समुह), शिवम बस्नेत (५० केजी समुह) र एलिसा घिमिरे (४० केजी समुह) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी समुह), सुमन परियार (६० केजी समुह), कनिशाक राना (५५ केजी समुह), सिबानी बस्नेत (४५ केजी समुह), विपना जिएम (५५ उमेर समुह) र सुस्मा पान्डे (५० केजी समुह)बाट प्रतिसपर्धा गर्दैछन् ।
नेपालको तर्फबाट सहभागी हुने उक्त टोलीको छनौट गएको मंसिर १८ र १९ गते भएको थियो । खेलाडीसंगै प्रतियोगितामा नेपालको तर्फबाट सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर, भिमसेन थापा, नागरिक दैनिकका व्युरो प्रमुख शेरबहादुर केसी र कारोबार दैनिकका व्युरो प्रमुख मनोरन्जन शर्मासहित ३० सदस्यीय टोली पुस ११ गते भारततर्फ जान लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यसैबीच प्रतियोगिताको लागि नेपालबाट भाग लिने खेलाडी छनौट सार्वजनिक कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सहभागिहरुले राज्यको शासकीय स्वरुप फेरिएता पनि देशको मेरुदण्डको रुपमा परिचित खेल र खेलाडीको संरक्षणमा राज्य उदासीन देखिएको बताएका छन् । पश्चिमान्चल करातें महासंघका अध्यक्ष तथा खेलकुद विकास समिति रुपन्देहीका पूर्वअध्यक्ष भरतबहादुर केसीले राज्यकै खेलजगतलाई उचीत ध्यान दिन नसक्नु दुखद भएको बताए ।
उनल भने, ‘राज्यले विशेष कार्यक्रम नै बनाएर जब सम्म खेल र खेलाडीको संरक्षण हुदैंन तबसम्म देश विकास पनि हुन सक्दैन ।’ खेलको संरक्षण भए खेलाडी हुने र खेलाडीहरु स्वस्थ हुनेहुदा देश विकासमा पनि टेवा पुग्ने उनको तर्क थियो । अध्यक्ष केसीले संघसंस्थाले गरेको पहलकद्मीले राज्यले चाख दिएर सहयोग गरेमात्रै पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम र शान उचो बनाउन सफल हुने भन्दै उदाहरणको रुपमा अन्तर्राष्ट्रिय करातें प्रतियोगिता भएको बताए ।
।