सूचनाको शक्ति - The Power Of Information

        

११ महिनामा २७ व्यवसायी कारवाहीमा

बाँके । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले गत ११ महिनामा २७ व्यवसायीलाई कारवाही गरेको छ । गत साउन १ गतेदेखि हालसम्म २७ वटा पसल तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराएको कार्यालयले जनाएको छ । कार्यालयले ११ महिनामा रु.१८ लाख ८० हजार जरिवाना असुल गरेको छ ।

जिल्ला बाहिरमात्रै गरिएको कारवाहीबाट जरिवानास्वरुप चार लाख २० हजार रकम असुल गरेको छ । कार्यालयले जिल्ला बाहिर तीन वटा पसल, उद्योग, व्यवसायलाई जरिवाना तिराएको छ । मासिकरुपमा हेर्ने हो भने कार्यालयले गत असोजमा एक, मंसिरमा एक, पुसमा दुई, फागुनमा चार, चैत्रमा सात, बैखाशमा चार र जेठमा आठ जना व्यवसायीलाई कारवाही गरेको देखिन्छ । कार्यालयले साविकको भेरी, राप्ती र कर्णाली अञ्चलका १६ जिल्ला हेर्दै आएको छ ।

त्यस्तै कार्यालयले लकडाउन अवधिमा मात्र १४ पसल, उद्योग, व्यवसायलाई कारवाही गरेको छ । जसबाट १४ लाख ४० हजार जरिवाना असुल गरेको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए । सूचना अधिकारी चौलागाईका अनुसार संयुक्त बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम तत्काल जरिवाना गराई कारवाही गरिएको हो ।

यस्तै अनुगमनबाट यो अवधिमा चार लाख १४ हजार ४३० रुपैयाँ बराबरको अखाद्य बस्तु नष्ट गरेको वा तत्काल सम्बन्धीत कहाँ फिर्ता गर्न लगाएको छ । जिल्ला बाहिर एक लाख २० हजार ५६० र हालसम्मको लकडाउन अवधिमा मात्रै तीन लाख ६२ हजार ६३० रुपैयाँ बराबरको अखाद्य बस्तु नष्ट गरेको हो ।

त्यस्तै यो अवधिमा १८२ पसल, उद्योग, व्यवसायलाई तत्काल सुधार गर्न सक्ने कुराहरुमा सुधार गर्न लगाइएको कार्यालयका सूचना अधिकारी चौलागाईले बताए । उनका अनुसार जिल्ला बाहिर १० र लकडाउन अवधिमा मात्रै ३८ पसल, उद्योग, व्यवसायलाई सामान्य कुराहरुमा सुधार गर्न निर्देशन दिइएको छ ।

यस्तै लकडाउन अवधिमा दुई वटा उद्योग, व्यवासायको आवश्यक कागज–पत्र माग गरिएको छ भने दुई वटा पसल, व्यवसायलाई शिलबन्दी गरिएको छ । त्यस्तै ११ महिनाको अवधिका कार्यालयले जम्मा ५३१ पसल, व्यवसायको अनुगमन गरेको छ । जिल्लाबाहिर १९ र लकडाउन अवधिमा १११ पसल, व्यवसायको अनुगमन गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १३:५८