सूचनाको शक्ति - The Power Of Information

        

२२ बर्षपछि पुरा हुँदै नरैनापुरबासीको बिजुली बाल्ने धोको

बाँके । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकावासीको बिजुली बाल्ने धोको अब पूरा हुने भएको छ । २२ वर्षदेखि हरेक निर्वाचनमा चुनावी नारा बन्दै आए पनि अहिले बन्दाबन्दी अवस्थामै नरैनापुरमा विद्युतीकरणले सार्थकता पाउँदैछ । एक जनाको ज्यान जाने गरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणमा सबै तहबाट पहल भई अहिले धमाधम विद्युतीकरणको काम भइरहेको छ ।

कोरोना महामारी फैलिएपछि बन्दाबन्दीमै शुरु भएको विद्युतीकरण अबको एक हप्ताभित्र सकिने भएको छ । अहिले नरैनापुर– ४ नरैनापुरमा विद्युत्को तार जडान गर्ने काम भइरहेको छ । वडा नं १ कटकुइँयासम्म नै विद्युतीकरणको काम छिट्टै सकिने ठेकेदार कम्पनीका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिए । सदरमुकाम नेपालगन्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित नरैनापुरमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिँदै आएकाले त्यसलाई स्थगन गरी विद्युत प्राधिकरणलाई जिम्मा दिएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको हो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रसम्म मात्रै विद्युतीकरणका काम गर्ने तयारी भएकोमा सिंचाइ, जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका महानिर्देशकसँगको आग्रहपछि नरैनापुर गाउँपालिकाभरि नै विद्युतीकरणको काम हुन थालेको बताए । ‘प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा पुर्याउन थालिएको विद्युतीकरणलाई अहिले त्यहीँ छाडियो भने अन्य दुई वडामा पुर्याउन पछि फेरि झण्झट हुनसक्छ,’ उनले भने, ‘त्यसैलै अहिले नै भारतको सीमासम्म सुइया बघौडामै विद्युतीकरणको काम गर्न लागिएको छ ।’

नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरणले थप प्राथमिकता पाएको हो । विद्युत् नहुँदा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बताउँदै अब भने विद्युत् आउनेमा आफु ढुक्क भएकोे गाउँपालिकाका अध्यक्ष शाहले बताए । उनले विद्युत् आउनासाथ नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेशन अस्पताल बनाइने जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १८:५२