सूचनाको शक्ति - The Power Of Information

        

कालीकोटमा कर्फ्यू हट्यो, आफन्तद्वारा धर्ना सुरु, निषेधाज्ञा कायमै

कालिकोट । कालिकोटमा तीन दिनदेखि जारी कर्फ्यू हटाइएको छ । शनिवार दिउँसोबाट सदरमुकाम मान्ममा लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको हो । कर्फ्यू फिर्ता लिए पनि जिल्ला प्रशासन र प्रहरी कार्यालय वरपरको दुई सय मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा भने कायमै छ ।
प्रहरीको गोली लागेर शुक्रबार म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएपछि कालिकोटमा तनाव उत्पन्न भएको थियो । घटनाको विरोधमा म्यादी र स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यू लगाएको थियो । घटनाको छानबिनका लागि सरकारले गठन गरेको उच्च स्तरीय छानबीन टोली सोमबार बिहान कालिकोट पुगेको छ ।
अवस्था सामान्य बन्दै गएको भन्दै प्रशासनले कर्फ्यू फिर्ता लिएको हो । कर्फ्यू फिर्ता भएपछि मान्म बजार खुलेको छ । तीन दिनदेखि जारी तनाव पनि बिस्तारै कम हुँदै गएको हो । कर्णाली राजमार्गमा पनि यातायातका साधन सञ्चालन भएका छन् । छानबिन टोली पुगेको र वार्ताको प्रयास जारी रहेको भन्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले अवस्था सामान्य बनाउन कर्फ्यू लाई खुकुलो बनाइएको जनाए ।
उनका अनुसार प्रशासन र प्रहरी कार्यालय वरपर भने निषेधाज्ञा कायमै छ । कर्फ्यू हटेपछि चहलपहल सुरु भएको छ । मृतक विवेक ऐडीका आफन्तले भने प्रशासन अगाडि बहिानैबाट धर्ना सुरु गरेका छन् । सरकारले छानबिन समिति गठन र १० लाख क्षतिपूर्ती दिने निर्णय गरे पनि पीडित परिवारले मृतकलाई सहिद घोषणा र गोली चलाउने प्रहरी, जिल्लाका सीडीओ र डीएसपीलाई तत्काल कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा नेतृत्वको उच्च स्तरीय छानबीन टोली सोमबार बिहान हेलिकोप्टरबाट कालिकोट पुगेको हो । टोलीमा नेपाल प्रहरीका डीआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठ र अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ्ग रहेका छन् । टोलीले अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल सुरु गरेको छ ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०९:१३