सूचनाको शक्ति - The Power Of Information

        

हिमामा सुरु भयो मुख्यमन्त्री रोजगार कार्यक्रम

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले जारी बन्दाबन्दीमा पनि मुख्यमन्त्री रोजगार कार्यक्रम मंगलबारबाट शुरु गरेको छ । हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार ३३९ जना बेरोजगार व्यक्तिलाई २० दिने कामसहित रोजगार दिइएको हो ।

उनले आर्थिक अवस्था कमजोर भएका तथा कोरोना भाइरसको कारणले घरखर्च चलाउने गाह्रो भएकादेखि रोजगारी गुमाएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका एक हजार ७८५ जना बेरोजगार व्यक्तिमध्येबाट प्राथमिकताका आधारमा रोजगारी दिएको बताए ।

सो कार्यक्रम अन्तरगत गाउँपालिकाको–४ स्थित हिमा आवासीय विद्यालयको भवननिर्माण र घेरवार आयोजनामार्फत रोजगार कार्यक्रममा समावेश गराइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

दुई महिनादेखि लकडाउनहँदा देशमा लाखौको रोजगारी गुमेको समयमा यहाँको हिमा गाउँपालिकाले भने अतिबिपन्नहरुलाई रोजगारीको अवसर प्रदान गरेपछि आफुमा खुसी छाएको सो योजनामा काम गरिरहेको स्थानीयवासी अमृत शाहीले बताए ।

रोजगार कार्यक्रमका कामदारहरुले दैनिक रु ६६० ज्याला प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । कामदारलाई सामाजिक दुरीकायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोगगरि समुहगतरुपमा आचारसंहिता सहितकाममा लगाईएको गाउँपालिको रोजगार शाखाले जनाएको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा गाउँपालिकालाई रु ६४ लाख बजेट मुख्यमन्त्री रोजगार कार्यक्रमबाट उपलब्ध गराइएको छ । उक्त बजेटमध्ये रु ४८ लाख पारिश्रमिकका रुपमा वितरण गरिनेछ भने बाँकी रकम औजार, निर्माण सामाग्री र सुरक्षा उपकरणमा खर्च गरिनेछ । यसवर्ष बेरोजगार व्यक्तिलाई समावेश गरि रोजगार उपभोक्ता समितिहरु गठन गरिएको छ ।

निर्माण कार्य र खरिद प्रक्रियासमेतको जिम्मा उपभोक्ता समितिलाई नै दिइएको छ । काम सकिएपछि जिल्लास्थित सामाजिक विकास कार्यालयले भुक्तानी दिने रोजगार संयोजक पौडेलले बताए । कर्णाली प्रदेश सरकारले केन्द्र सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको सिको गर्दै मुख्यमन्त्री रोजगार कार्यक्रम आर्थिकवर्ष २०७६/०७७ बाटसुरु गरेको हो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम जिल्लास्थित सामाजिक विकास कार्यालयको मातहतबाट सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रमको प्रभावकारिता र पारदर्शीतामा कुनै शंका नगर्न गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारले जारीगरेको मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७६ को पूर्णपालना गरीकाम संचालन भएको र जिल्लाकै पहिलो हिमा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को मुख्यमन्त्री रोजगार कार्यक्रम शुरु गर्ने स्थानीय तह भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १६:५८