सूचनाको शक्ति - The Power Of Information

        

खेती गर्ने बेला रासायनिक मल अभाव

दाङ । खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मल अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

परिवर्तन कृषि सहकारी संस्थाले कृषकलाई खेतीपातीका लागि आवश्यक पर्ने २०० बोरा अनुदानको रासायनिक मल माग गरेकामा युरिया र डीएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले जानकारी दिए । सहकारीमा सोमबार मल लिन आएका कृषक सुन्दरलाल चौधरी पनि रित्तै फर्किनुपर्यो । ‘धान खेतीका लागि मल लिन आएको थिएँ तर मल पर्याप्त मात्रामा नआएकाले सकियो भन्नुभयो,’ उनले भने ।

ढुवानी बन्द हुँदा जिल्लाका घोराही, तुलसीपुर र लमही नगरपालिकामा मल अभाव देखिएको हो । जिल्लामा लकडाउनका समयमा पनि ढुवानी भएर आएको मल सबै सहकारीलाई वितरण गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ । कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीले घोराहीमा डीएपी केही मात्रामा भए पनि युरिया भने नभएको जानकारी दिए ।

उनका अनुसार जिल्लामा यसअघि नियमित मल आए पनि हाल भने अभाव देखिएको छ । कम्पनीको सिफारिसमा इच्छुक सहकारीले भने भैरहवाबाट मल ल्याउने गरेको केसीको भनाइ छ । ‘हामीसँग स्टक छैन, जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले पनि आवश्यक मलका लागि सिफारिस दिने भन्ने निर्णय भएको छ,’ केसीले भने । त्यसैगरी कृषि सामग्री कम्पनी तुलसीपुरले पनि अनुदानको रासायनिक मल सकिएको जनाएको छ ।

कम्पनीमा आएको मल जति सबै सोमबार वितरण गरेसँगै अब एक बोरा पनि मल मौज्दात नभएको बताइएको छ । जिल्लामा २५० टन मल आवश्यक पर्नेमा घोराही, तुलसीपुर र लमहीमा मात्र १०० टन आवश्यक पर्ने बताइएको छ । आफूहरुलाई मल ल्याउन भैरहवा जान भनिएको तर बन्दाबन्दीका समयमा आफूहरु जान नसकेको सहकारी बताउँछन् । जिल्लामा कृषि सामग्री कम्पनीले कृषि सहकारीमार्फत अनुदानको मल किसानलाई उपलब्ध गराउँदै आएको छ । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १३:११