अनुसन्धानका लागि घटनास्थलमा पुगेको प्रहरी टोली ।
बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डका आरोपी सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेका छन् । स्थल नजिकै लुकेर बसेका हत्या आरोपीले कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले बताए ।
घटनास्थल नजिकै परालमा लुकेर बसेका सिंजालीले गाईभैँसीको गोठअगाडि सुतेका पाँचजनाको हत्या आफूले गरेको ती व्यक्तिले प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरीको भनाई छ । सोमबार राति तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने तीनजना र गाउँका अरु दुईजना गरी पाँचजनाको हत्या भएको थियो ।
सैनामैना मुर्गियाका ४१ वर्षे माधव मुसहर, ३७ वर्षकी जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या भएको हो । माधव र जानकी श्रीमान–श्रीमती हुन् । पोषराजलाई फार्म सञ्चालक रामबहादुर पुनले धर्मछोराका रुपमा पालेका थिए ।
उनीहरुको फरुवाले टाउकोमा हिर्काएर हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको टाउको र घाँटीमा चोट लागेको देखिएको छ । श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि झसेन्द्र करिब दुई महिनाअघि मात्रै सो फर्ममा काम गर्न पुगेका थिए ।
उनले श्रीमतीले छाडेर गएको र आफू एक्लै रहेकाले तनाव हुने गरेको स्थानीयसँग बताउँदै आएका थिए । स्थानीयका अनुसार उनले दैनिकजसो मदिरा सेवन गर्ने गर्थे । स्थानीय दिपुष्पा थारुले श्रीमतीले छाडेपछि तनाव हुने गरेको र आफ्नो कोही पनि नरहेको सिंजालीले बताउने गरेको बताइन् ।
गोठमा काम गर्ने पाँच जनाको हत्यापछि तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट पक्राउ गरेर सिंजालीलाई हिरासतमा राखेको छ भने शव पोष्टमार्टमका लागि लग्ने तयारी छ । घटनाबारे थप अनुसन्धान भइसकेपछि मात्रै विस्तृत विवरण आउने घटनास्थलमा खटिएका डीएसपी खत्रीले बताए ।
यो पनि पढ्नुस् :
सत्यपाटी ।