सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या, सुर्खेतका धसेन्द्र पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको भैंसी फार्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले फार्ममा काम गर्ने पाँच जना कामदारको हत्या भएको पुष्टि गरेका छन् । उनले आफू घटनास्थततर्फ जाँदै गरको र भैसी फार्ममा कामदारबीच झगडा हुुँदा हत्या भएको हो कि भन्ने आशंका रहेको बताए ।

प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको हत्या भएको छ । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरेको प्रारम्भीक जानकारी आएको प्रहरीले बताएको छ । घटनाको विस्तृत अवस्था बुझ्न प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रहरीले हत्याको आशंकामा उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका ३१ वर्षीय सिंजाली रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । उहाँले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोलीसमेत गठन गरिएको बताए । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी रहेका छन् । उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार ०९:१८