सूचनाको शक्ति - The Power Of Information

        

‘प्रकोप व्यवस्थापन कोष’मा शिक्षक महासंघको सहयोग

बाँके । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि नेपाल शिक्षक महासंघ नगर समितिले करिब चार लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । महासंघ नेपालगन्ज नगर समितिको आव्हानमा नगर क्षेत्रका सम्पुर्ण शिक्षकहरुबाट उपलब्ध एक दिनको तलब बराबरको रकम संकलन गर्दै सोमबार एक कार्यक्रमबीच आर्थिक सहयोग नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उपमहानगरपालिकामा स्थापित “प्रकोप व्यवस्थापन कोष“मा दाखिला हुने गरि संकलित रकम ३ लाख ९५ हजार ८८८ रुपैयाको चेक महासंघ नगर अध्यक्ष मनोजराजा श्रीवास्तवले नेपालगन्जका मेयर डा.धवलसम्शेर राणालाई हस्तान्तरण गरे । सो क्रममा मेयर डा.राणाले कोरोना संक्रमण व्यवस्थापनका लागि शिक्षक महासंघको सहयोगी भुमिकाप्रति आभार प्रकट गरे । उनले सहयोग गरिएको रकमले संक्रमण व्यवस्थापन कार्यमा ठूलो मद्दत पुग्ने बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य द्रोण वलीले केन्द्रीय समितिको सोँचलाई आत्मसाथ गर्दै नगर शिक्षक महासंघमार्फत भएको संकलन कार्य नमुना भएको बताए । नेपाली शिक्षकहरु हरेक परिस्थितिमा हातेमालो गर्दै आएको स्मरण गर्दै केन्द्रीय सदस्य वलीले स्थानीय तहबाट शिक्षकका समस्या यथासक्य समाधानका लागि पनि आग्रह समेत गरे ।

सो कार्यक्रममा नेपालगन्जकी उपमेयर उमा थापामगर, नगर शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, नेपाल शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके अध्यक्ष बामदेव सुवेदीसहित विभिन्न पेशागत संस्थाहरुका अध्यक्ष, शिक्षक नेता कंचन आचार्य, प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति नगर सचिव केशवराज शर्माले जानकरी दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १८:३१