रोल्पा । रोशनी शाही बलात्कार काण्डपछि गुमनाम रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महराले आफ्ना बाबुले हलो जोत्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसदसमेत रहेका महराले रोल्पाको लिवाङस्थित आफ्नो पुख्र्यौली बारीमा हलो जोत्दै गरेको तस्बिरमा देखिएको छ ।
महराको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक कार्यक्रमहरुमा धेरै जान छाडेका महरा दाङ क्षेत्र नं.२ का कार्यक्रमहरूमा फाट्फुट देखिने गरेका छन् । घोराहीको पनौरामा रहेको भव्य घरमा बस्ने गरेका महरा एकाएक रोल्पाको लिवाङमा रहेको आफ्नो पुख्र्यौली जग्गा जोत्न पुगेका हुन् ।
महराले आफूलाई रोशनी शाही काण्डबाट बाहिर निकाल्नका लागि मन बहलाउन हलो जोतेको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । महराले हलो जोत्दै गर्दा उनकी पत्नी छोरा, आफन्त र सुरक्षा अंग (पीएसओ)ले नजिकै डिलमा बसेर हेरेको तस्बिर र भिडियोमा देखिन्छ । संसदमा बजेटमाथि छलफल भइरहेको छ । तर, नेकपाका सांसद महरा भने रोल्पातिर आइपुगेका छन् ।
तत्कालीन समयमा संसद सचिवालयमा काजमा रहेकी स्वास्थ्यकर्मी रोशनी शाहीले महरालाई बलात्कार काण्डमा मुछेकी थिइन् । शाहीले पछि बयान फेरेपछि काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा महराले सफाइ पाएका थिए । दशैँभन्दा केही दिनअघि असोज १९ गते पक्राउ परेपछि महरा लामो समयसम्म डिल्लीबजार कारागारामा बसेका थिए । उनले फागुन ५ गते जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका थिए ।
सत्यपाटी ।