सूचनाको शक्ति - The Power Of Information

        

जातिय व्यवस्था र सामाजिक विभेदविरुद्ध उठ्नुपर्छ रुकुम

नेपालको साविकको मध्यपश्चिममा अवस्थित रुकुम जिल्ला साँच्चै प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी छ । अझ भनौं प्रकृतिको कुबेर नै हो रुकुम । अविरल बग्ने ती ठुली भेरी र सानी भेरी, रातै फुलेका लालीगुराँस, अनगिन्ती छाँङ्गा अनि छहरा, स्वच्छ र कञ्चन झरना, विभिन्न किसिमका महत्वपूर्ण बनस्पतिहरु, सेतै टल्किने सिस्ने हिमाल लगायत थुप्रै प्राकृतिक सम्पदाहरुले प्रख्यात रहेको, रुकुम जिल्ला ।

समयको बेगसँगै थुप्रै परिचय बोकेको रुकुम तत्कालिन नेकपा माओवादी युद्वको उद्गम थलोको रुपमा पनि परिचित छ । समाज परिवर्तनका लागि सयौं रुकुमेली दाजुभाई र दिदीबहिनीहरु युद्वका क्रममा आफुलाई समर्पित गरिसकेको यथार्थता पनि हाम्रो सामु छर्लङ्ग रहेको छ । विद्यालय जाने कलिला मस्तिष्क बोकेका बालबालिकाहरुले आफ्नै वरिपरि बम, बारुद र गोलीको आवाजसँग पौठेजोरी खेल्नु एकप्रकारको दैनिकी नै भइसकेको थियो ।

सँगसँगै नेताका चर्का भाषण सुन्नु उनीहरुलाई जरुरी नै थियो । त्यतिबेलाको शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षाको परिभाषा दिनुले पनि अधिकांश किशोरकिशोरीहरु पढाई छोडेर युद्वमा होमिएका थिए । आफ्ना हितैशी मित्रहरुले युद्धभूमीमा आफ्नो रगतको खोला बगाएको दृश्य देख्नबाट म पनि अछुतो थिइन । वर्गिय, लैङ्गिक र जातिय समानताको खातिर आफ्नो जीउज्यान समर्पण गरेका रुकुमेली दाजुभाई दिदीबहिनीहरुको उद्देश्य प्राप्त हुन सक्यो सकेन आज सोच्नुपर्ने बेला भएको छ । एक्काइसौं शताब्दीमा अघि बढिरहेका हामी साँच्चै अझै कस्तो मानसिकतामा गुज्रिरहेका छौं त ?

केही दिनअघि घटेको घिनलाग्दो घटनाले पनि छर्लंग पारेको छ । अझैसम्म पनि रुकुमेली समाजमा जातीय भेदभावको पराकाष्ठा र त्यस घटनाले निम्त्याएको अकल्पनीय परिणामबाट अर्को परिचय प्राप्त गरेको छ, रुकुमले । दलित भएकै कारण आफुलाई माथिल्लो जाती ठान्ने ब्यक्तिहरुबाट कसैलाई माया गरेकै कारण आफ्नो ज्यान गुमाउनुपर्ने यो कस्तो संस्कार हो ? अनि यो कस्तो समानता ? के रुकुमेली जनतामा आयको परिवर्तन यहि हो त ? के पीडितले न्याय पाउला त ? हामी चाहन्छौ चाँडै नै यसको छानबिन होस् । नवराजको अन्तर्जातीय प्रेमलाई सार्थक बनाउन पहिलो पंक्तिमा साथ दिँदै अरु पाँच जनाले समेत जयान गुमाउनुपरेको छ ।

यो जघन्य हत्याकाण्डमा जीवित भए पनि उनीहरु मरेतुल्य र जीवनभर आहत हुनेछन् । जात व्यवस्थारूपी हिन्दु समाजमा रहेको कंलक प्रथाविरुद्घ जीवन उत्सर्ग गर्ने युवालाई जति सह्राना र सम्मान गरे पनि कम हुन्छ । जातीय हिंसाको पक्ष लिने, समानताविरुद्घ लाग्ने वा त्यस्ता मतियारको संरक्षण गर्नेहरु कदापि उम्किनुहुँदैन । आज रुकुममा भएको घटनाले यही आशंका जन्माएको छ । आज रुकुम घटनाले हाम्रो समाजलाई नै विचलित बनाएको छ ।’ यो घटनाले कुनै समुदायलाई दुख्दैन, आक्रोशित बनाउँदैन भने हामीले बुझ्नुपर्छ, उसको नशामा अझै जातीय व्यवस्था भरिएकोे छ ।

यसले पनि रुकुमको जातीय नरसंहारमा पनि दलित समुदायले न्याय पाउने कुरा सजिलो छैन भन्ने संशय देखाएको छ । चौरजहारी घटनापछि हाम्रो समुदायबाट विकसित भएका बौद्घिक र विवेक भएका मान्छेहरू अगाडि आउन तयार होलान् ? हालसम्म पनि हिजोकै विष्ट बराजुको निगाहमा बाँच्ने र माग्ने समुदायको मानसिकताबाट बाहिर निस्कने आँट विकास गर्न ढिलाइ भइसक्यो । त्यस्ता जुझारु र विवेकी बौद्घिक दलित युवा जमात आजको सामाजिक आन्दोलनले खोजिरहेको छ । गैरदलित बौद्घिक जमात देशभरिका गैरदलितलाई रुकुम घटनामा राज्यलाई दबाब उत्पन्न गर्नका लागि आह्वान गरिरहेका छन् । जात व्यवस्था हाम्रा स्वार्थी पुस्ताले थोपरेको मानव कलंक हो । कालान्तरमा यो आफैं एउटा शोषणको व्यवस्था बन्न पुग्यो ।

देशको कानुनअनुसार जातीय आधारमा हुने छुवाछुत र भेदभावलाई दण्डनीय अपराध मानेको ५७ वर्ष भएको छ । मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले वि.सं. २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त देश घोषणा गरेको थियो । तर व्यवहारमा सामाजिक बन्देजदेखि ज्यानै गुमाउनुपर्ने अवस्था कायमै छ । छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा बराबर हुने सिद्धान्तलाई आत्मसात् गरेको छ ।

यसै अन्तरगत छुवाछुत तथा भेदभावविरुद्धको अधिकारमा विवाह गर्ने तथा वरवधु छान्ने अधिकार सुरक्षित छ । प्रचलित कानुनबमोजिम उमेर पुगेका वरवधुबाट मन्जुर भएको अन्तरजातीय विवाह गर्न उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेसा वा व्यवसायका आधारमा रोक लगाए छुवाछुत तथा भेदभाव गरेको मानिन्छ । मुलुकी अपराध संहिता ०७४ को दफा १६६ ले जातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न, पानी, पँधेरो प्रयोग गर्नबाट वञ्चित गर्न, निजी तथा सार्वजनिक उपयोग वा सुविधाका कुरा प्रयोग वञ्चित गर्न नहुने उल्लेख छ ।

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यही दफाको उपदफा २ मा राष्ट्रसेवक कर्मचारीले यस्तो कसुर गरेमा तीन महिनासम्म थप कैद सजाय हुने व्यवस्था छ । रुकुम घटना मानवताविरोधी घटना हो । यसको जति भर्त्सना गरे पनि कम हुन्छ । कानुनी र समावेशी राज्यको वकालत गर्ने नेपालजस्तो लोकतान्त्रिक देशमा यस्ता घटना घटित हुनु सिङ्गो देशकै लागि लज्जाको विषय हो । यसलाई सामान्य घटना सम्झेर छोडिदिने हो भने संविधानले परिकल्पना गरेको विभेदमुक्त र समाजवादउन्मुख राज्यको उपहास हुन्छ ।

रुकुम घटनालाई नेपाली समाजको निम्ति ठूलो चुनौती सम्झेर दोषीलाई कडाभन्दा कडा सजाय दिनु अहिलेको टड्कारो आवश्यकता पनि हो । यसलाई हटाउन पनि न्यायप्रेमी पुस्तासँगै नलडी सम्भव छैन । अबको आन्दोलन सिंगो जातिय व्यवस्था अनि सामाजिक विभेदविरुद्घ हुनुपर्छ । लोकेन्द्र सुनार, सन्दिप बिक, टीकाराम सुनार, गोविन्द शाही, गणेश बुढाले समाजको कुहिसकेको सिंगो जातिय व्यवस्था र सामाजिक विभेदविरुद्घको एउटा लडाई थियो । त्यसैले रुकुमेली दाजुभाई तथा दिदीबहिनीहरु, बुद्धिजिवी वर्गहरु, समाजसेवीहरु, नेता तथा नागरिक समाज अब सिंगो जातिय व्यवस्था र सामाजिक विभेदविरुद्घ मिलेर लड्नुपर्छ । जसको नेतृत्व रुकुमबाटै हुनेछ । अनि हामी गर्वका साथ मेरो जन्मभूमि रुकुम हो भन्न सक्छौं ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १३:४३