सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आलोपालो पसल खोल्ने निर्णय खारेज

बाँके । बाँकेमा स्थानीय प्रशासनले बिहीबार गरेको निर्णय दुई दिनमै फेरबदल गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षमा बिहीबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले बारअनुसार नेपालगन्जमा बजार खुल्ला गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन हुन नहुँदै शुक्रबार बसेको बैठकले उक्त निर्णय फेरबदल गरेको हो ।

जिल्लास्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा बांकेमा बन्दाबन्दी केही खुकुलो पार्ने निर्णय गरेको बिषयलाई लिएर गृह मन्त्रालयले चासो देखाएपछि शुक्रबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक बैठकले बन्दाबन्दीलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ ।

बन्दाबन्दी खुकुलो पार्ने निर्णय सार्वजनिक भएपछि गृह मन्त्रालयले बाँकेको विपद् व्यवस्थापन समितिलाई लिखित स्पष्टीकरण सोधेको थियो । मन्त्रालयको दबाबपछि बाँके जिल्ला प्रशासन एवं विपद व्यवस्थापन समितिले बन्दाबन्दीलाई पुनः कार्यान्वयन गरि अतिआवश्यक वस्तुवाहेक अन्य सेवा सुविधाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नेपालगन्जका व्यवसायीहरु, नेताहरु तथा सर्वसाधारणको दवाब परेपछि जिल्लास्तरीय बिपद् ब्यवस्थापन समितिको बैठकले बन्दाबन्दीको विकल्प खोज्ने क्रममा गत जेष्ठ २१ गते विभिन्न विकल्पसहित फरक फरक दिन फरक फरक व्यवसाय खोल्न पाउने गरी निर्णय भएको थियो । शुक्रबारको बैठकले भोलीदेखि लागु हुनेगरी पहिलेको जस्तै अत्यावश्यककीय बाहेकका अन्य पसल, व्यवसाय पूर्णरूपमा बन्द गर्न भनेको छ ।

बाँके प्रशासनले शुक्रबार नेपालगन्जको लकडाउन खुकुलो बनाउँदै यहाँको केही बजार खोलेपछि आम नागरिकहरू समेत आक्रोशित भएका थिए । बाँकेमा फेरी लकडाउन पहिलेकै अबस्थामा रहने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बताउँछन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले निशेषाज्ञासँगै फेरि बन्दाबन्दीमा कडाई गर्ने भएको छ ।

बजार र पसल ब्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले उक्त निर्णय खारेज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय बताए । बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्रै अत्यावश्यक र दैनिक उपभोग्य बस्तुसँग सम्बन्धित पसल मात्र सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १७:१९