सूचनाको शक्ति - The Power Of Information

        

देशभर २६३४ कोरोना संक्रमित, १० जनाको मृत्यु

काठमाडौं । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालमा ३३४ नयाँ कोरोना संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६३४ पुगेको छ । आज भएका संक्रमितहरु ३१९ जना पुरुष र १५ जना महिला छन् । यस्तै संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ ।

साथै देशभर संक्रमित भएकाहरु मध्य २४५० पुरुष छन् भने १८४ महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १,बागलुङका १०,पर्वतका ४, स्याङजाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । यस्तै हालसम्म १० जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।

यसैबीच, पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । पाँच दिनअघि मात्रै पूर्वखोला गाँउपालिका–१ सिलुवाका ४५ बर्षीय पुरुषको तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला–२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पाल्पामा मृत्यु भएका पुरुषको बिहीबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १७:३९