सूचनाको शक्ति - The Power Of Information

        

एउटै वडामा ४० संक्रमित, जानकी बन्यो ‘हटस्पट’

बाँके । बाँकेमा आज एकैपटक बाँकेमा ४२ जनामा संक्रमण देखिएको छ । हालसम्म संक्रमित नदेखिएको जानकी गाउँपालिका कोरोनाको ‘हटस्पट’ बनेको छ । शुक्रबार जानकीमा एकैपटक ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकामा पहिलो पटकमै यतिधेरै संख्यामा संक्रमित भेटिएका हुन् । जानकीमा भेटिएका सबै संक्रमित वडा नं. १ का हुन् ।

संक्रमितहरु १५ देखि ३२ बर्ष उमेरका रहेका छन् । जसअनुसार १५ बर्षका तीन जना, १६ बर्षका चार जना, १८ बर्षका सात जना, १९ बर्षका पाँच जना, २० बर्षका दुई जना, २१ बर्षका चार जना, २२ बर्षका तीन जना, २३ बर्षका दुई जना, २४ बर्षका दुई जना, २५ बर्षका तीन जना, २६ बर्षका एक जना, २८ बर्षका एक जना, २९ बर्षका दुई जना र ३२ बर्षका एक जना छन् ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १२ का ३५ बर्षिय र १५ का २० बर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म जिल्लाका आठ स्थानीय तहहरुमध्ये कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन । योसँगै बाँकेमा संक्रमितको संख्या २५५ जना पुगेको छ भने हालसम्म २९ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

आज संक्रमण पुष्टि भएका सबैको नेपालगन्जस्थित भेरी अस्पतालमा पीसीआर जाँच गरिएको थियो । जसमा जानकी गाउँपालिकाको वडा नं. १ मा लिइएको ११३ जनाको स्वाबमध्ये सबैको जाँच सकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आज संक्रमित देखिएकाहरुलाई जानकी गाउँपालिकाभित्र निर्माण गरिएका आइसोलेसन सेन्टरमा राखिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १७:२९