काठमाडौं । गत ५ मंसिरमा जिम्बाबेका तानाशाह रोबोर्ट मुगाबेको सत्ता पलट हुँदै गर्दा नेपालमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको चहलपहल ‘क्लाइमेक्स’तर्फ लम्कँदै थियो । मुगाबे र जिम्बावे ३७ वर्ष एकअर्काका पर्यायजस्तै रहे । ९३ वर्षे शासकले ४० वर्षीया कान्छी पत्नी ग्रेसलाई आफ्नो उत्तराधिकारी बनाउने प्रयत्नका कारण सत्ताच्युत हुनुर्पयो ।
नेपाल र जिम्बाबेका राजनीतिकर्मीहरुबीच कहींकतै साइनो गाँसिदैन । तर, संयोगवस पत्नी आरजुलाई उत्तराधिकारीका रुपमा स्थापित गराउने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयासलाई पनि मतदाताले असफल बनाइदिए, मुगाबेलाई जस्तै । नेपालको चुनावी परिणाम त्यतिमै सीमित रहेन, मतदाताले कांग्रेसलाई नै इतिहासकै शर्मनाक हार बेहोर्न बाध्य बनाइदिए । तर, यसमा प्रश्न उठ्छ, कांग्रेसको हारको एउटा कारण देउवाको पत्नीमोह र आरजुको महत्वाकांक्षा नै थियो त ?
अहिले कांग्रेसजन हारको कारण खोजिरहेका छन् । र, यसको एउटा कारणका रुपमा देउवापत्नी आरजुको महत्वाकांक्षालाई समेत सन्निकट क्षितिजमा देखिरहेका छन्, कांग्रेसजनले । कांग्रेसका एक नेता भन्छन्, ‘आरजु प्रत्यक्ष चुनाव नलडेको वा लो प्रोफाइलमा बसेको भए पनि अहिलेभन्दा कांग्रेसको परिणाम धेरैफरक आउँदैनथ्यो । तर, यो चुनावमा कांग्रेसलाई मन नपराउनुको एउटा कारण भने आरजु बनिन् ।’
पार्टीभित्र विद्वत छवि निर्माण गरेकी आरजु पहिलोपटक प्रत्यक्षतर्फको चुनावी मैदानमा ओर्लिएकी थिइन् । र, पहिलो गाँसमै ढुंगा लागेको छ । यसअघि पतिले जितेको क्षेत्रमै उम्मेदवारी दिएकी उनको उत्तराधिकारी बन्ने महत्वाकांक्षामा ‘ब्रेक’ लागेको छ । चुनाव प्रचारका क्रममा आरजू थुप्रै स्क्यान्डलमा मुछिइन् । ‘टुरिस्ट’ उम्मेदवारको आरोप पखाल्न तीन करोड रुपैयाँको घर खरिद गर्ने उनको निर्णयले ‘ब्याक फायर’ गरायो । र, त्यसले देशभरका कांग्रेसप्रति नकारात्मक भाव पैदा गरायो ।
आरजूले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई आफ्नो क्षेत्रमा चुनाव प्रचार गर्न आमन्त्रण गरिन् । यसको मुख्य कारण थियो, सोही क्षेत्रमा सक्रिय राजनीति गरिरहेका पुराना कांग्रेस नेता पुष्करनाथ ओझाको असन्तुष्टि व्यवस्थापन गर्नु । तर, त्यहाँ बोल्ने क्रममा मन्त्री बस्नेतले आरजुलाई ‘भावी प्रधानमन्त्री’का रुपमा अगाडि सारिदिँदा नेतारकार्यकर्ता मात्रै नभई मतदातामा पनि एकखालको आक्रोश र शंसय पैदा भयो । भावी प्रधानमन्त्रीको कार्ड आरजुका लागि घातक सावित भयो ।
आरजुको कांग्रेस साइनो
तत्कालीन गृहमन्त्री देउवासँग लगनगाँठो नकसिएको भए आरजु कांग्रेस राजनीतिमा शायदै प्रवेश गर्ने थिइन् । देउवासँग आरजुको लगनगाँठो कस्न तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले ‘लमी’को भूमिका निर्वाह गरेकी थिइन् । अर्थात्, त्यो विवाह दुई परिवारबीचको मिलनमा सीमित थिएन । त्यो विशुद्ध कूटनीतिक विवाह थियो । त्यही पृष्ठभूमिको परिणति हो, आरजुको मनमा कांग्रेसको सक्रिय राजनीतिमा जम्ने चाहना जागृत हुनु ।
सुजाताकै नियति
देउवापत्नी आरजु र स्वर्गीय गिरिजाप्रसाद कोइरालापुत्री सुजाताबीच संयोगै संयोग छन् । यी दुवैको राजनीतिक महत्वाकांक्षा पति र पिताकै कारण पैदा भएको हो । छोरी सुजातालाई राजनीतिक उचाइ दिलाउने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आकांक्षासँगै देउवामा पनि पत्नीलाई स्थापित बनाउने रहर पलाएको कहींकतै छिपेको छैन । ३१ भदौ ०५१ र २० असार ०६६ का दुई उदाहरण हेरौं । पहिलो उदाहरण हो, दी इन्डिपेन्डेन्टलाई दिएको अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री कोइरालाले छोरी सुजाताका बारेमा भनेका थिए, ‘उनी राजनीतिक व्यक्ति नै होइनन् र उनीभन्दा समर्पित कार्यकर्ता कांग्रेसमा धेरै छन् ।’
त्यसको १५ वर्ष बित्दा नबित्दै उनी छोरीलाई स्थापित गराउने एक सुत्रीय एजेन्डामा देखिए । र, त्यसका लागि साथमा लिने प्रयास गरे, देउवा दम्पत्तिलाई । त्यसअघि कहिल्यै आरजुको नजिक नदेखिएकी सुजाता बूढानीलकण्ठस्थित देउवा निवासमा आयोजित चियापान समारोहमा बाबुसँगै उपस्थित भएकी थिइन्, २० असार ०६६ मा । र, ‘दाइभाउजू’सँग सहयोगको याचना गरेकी थिइन् । कोइरालाको देउवा कार्ड र देउवाको कोइराला कार्डले मात्र पार्टीमा केही हुन नसक्ने परिस्थिति त्यतिबेलै सिर्जना भइसकेको थियो ।
त्यतिबेला माधवकुमार नेपालको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा सुजातालाई सामेल गराउने कुरामा देउवाले सहजीकरण गरिदिए । तर, अहिले सुजाता कोइराला कांग्रेसको राजनीतिमा अझै जम्न सकेको देखिँदैन । देउवाले गिरिजाबाट पाठ सिक्न सकेको देखिएन, यसपालि । कोइराला वंशवादको विरोध गर्दै पार्टी नै फोडेका देउवाले अहिले आफैंले वंशवादी राजनीति अगाडि बढाउने प्रयत्न गरे । लामो समय कांग्रेसलाई नेतृत्व दिएको कोइराला परिवार नै असफल भइसकेको बुझ्न नसक्दा देउवा चिप्लिए ।
देउवालाई छोरीको सहयोगी बनाउने प्रयास गिरिजाप्रसाद कोइरालाले पहिलो संविधानसभा निर्वाचन अगाडि नै थालेका थिए । त्यसअघि शंखपार्कमा आयोजित नेपाल महिला संघको वनभोजलाई सम्बोधन गर्दै कोइरालाले आरजु संविधानसभामा आउनुपर्ने सार्वजनिक आह्वान नै गरेका थिए । तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री कोइरालाको ‘ग्रिन सिग्नल’ पाएका देउवाले पत्नी आरजुलाई पहिलो संविधानसभामा डडेलधुराबाट प्रत्यक्षतर्फको उम्मेदवार नै बनाउने प्रयाससमेत नगरेका होइनन् । तर, स्थानीयस्तरबाट आएको चर्को विरोधका कारण उनको प्रयास सफल हुन सकेन । तर, समानुपातिक सूचीबाट आरजु दुवै संविधानसभामा उपस्थित भइन् ।
तर, सुजाता भने पहिलो संविधानसभामै सुनसरी–५ बाट पराजित भइन् र दोस्रो संविधानसभामा पनि अनुपस्थित रहिन् । कोइराला वंश परम्पराबाट कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको सूचीमा सुजाता टाढै छिन्, अहिले । बाबुको बिँडो थाम्ने सुजाताको प्रयासमा जसरी ‘ब्रेक’ लाग्यो, त्यसरी नै पतिको उत्तराधिकारी बन्ने आरजुको प्रयासमा मतदाताले पानी खन्याइदिए । यसपटकको निर्वाचनमा आरजुले ०६४ सालमा सुजाताले भोगेको हविगत बेहोरिन् । सुजाता कांग्रेसको समानुपातिक सूचीमा भएकाले यसपटक सोही कोटाबाट सांसद बन्ने सम्भावना प्रबल छ । अर्थात्, ०६४ सालको नियति प्रकट हुने सम्भावना पनि बलियो छ ।
दुईबीच अर्को रमाइलो संयोग पनि छ । आफू जीवित छँदै कोइरालाले छोरी सुजातालाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउन सफलता पाए । कोइरालाले सुजातालाई बिनाविभागीय मन्त्री बनाउँदा कांग्रेसमा ठूलै रडाको मच्चिएको थियो । तर, त्यो विरोधले सुजातालाई रोक्न सकेन । त्यसैको सिको देउवाले गरे । दुवै संविधानसभामा पत्नी आरजुलाई सभासद बनाउन उनी सफल भए । त्यसपछि आफू पार्टी सभापति छँदै पत्नी आरजुलाई थप राजनीतिको उचाइ दिलाउन मन्त्री बनाउने प्रयास गरेका थिए, तर असफल बने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा देउवाले स्वभाविक दाबेदार डा. शेखर कोइरालालाई रोकेर आरजुलाई परराष्ट्रमन्त्री बनाउन चाहेका थिए । तर, माओवादी नेतृत्वको असहमतिका कारण उनको आकांक्षा पूरा भएन । त्यही आकांक्षा पूरा गराउने प्रयास थियो, २१ महिनाअघि भारतीय धर्मगुरुहरुसँग आरजुको भेट । तिनै धर्मगुरुहरु हुँदै देउवालाई युरोप अमेरिकी ‘लबी’बाट भारतको कित्तामा उभ्याउन आरजुले योगदान दिइन् । त्यसैको गुन तिर्न पत्नीलाई प्रत्यक्ष चुनावमा जिताएर राजनीतिमा स्थापित गराउन चाहे, देउवाले । ‘यदि आरजुले चुनाव जितेको भए परिस्थिति अर्कैै हुने थियो । तर, भारी अन्तरले हारेकाले पार्टी राजनीतिमा आउने सम्भावना तत्काललाई र्टयो,’ एक कांग्रेस नेता भन्छन् ।
कांग्रेसको इतिहास पल्टाऊँ
द्वारिकादेवी ठकुरानी, मंगलादेवी सिंह, नोना कोइराला र शैलजा आचार्यलाई पार्टी नेतृका रुपमा कांग्रेस र कार्यकर्ताले स्वीकारेका थिए । कारण, उनीहरुमा राजनीतिक अनुभव, कांग्रेसी संस्कार र इतिहास थियो । उनीहरु सबै संघर्षबाट खारिएर आएका थिए । भलै शेरबहादुर देउवा र आरजूले के भन्ने गरेका छन् भने उनीहरुको सम्बन्ध पति पत्नीका रुपमा मात्रै नभएर राजनीतिक पनि छ । अर्थात आरजू देउवाकी पत्नीमात्रै होइनन्, कांग्रेसमा उनको बेग्लै योगदान र भूमिका छ । तथापि आरजु र सुजाता दुवैको सैद्धान्तिक र संघर्षको आधार छैन । किनभने, दुबै कांग्रेसको विचार मन्थन र राजनीतिमा आएका होइनन् ।
कर्णालीपारि र कोशीपारि गैरसरकारी संस्थाको सञ्जाल तयार पारेर त्यसैलाई राजनीतिको टेको बनाए, यी दुवैले । बाबु प्रधानमन्त्री हुँदा गलत बाटोबाट सम्पत्ति आर्जन गरेको र पैसा कमाउन केन्द्रित रहेको आरोप सुजातामाथि लाग्दै आएको छ । ठीक त्यसरी नै श्रीमानको शक्तिको आडमा सम्पत्ति आर्जन गरेको आरोपबाट मुक्त छैनन्, आरजु पनि । राजनीतिमा यी दुवै छड्के बाटोबाट आए । र, ‘फास्ट ट्रयाक’ समाउन खोज्दा ‘डिरेल्ड’ हुन पुगे । सुजाता फेरि राजनीतिको मार्ग पछ्याउने प्रयासमा देखिन्छिन् । तर, आरजु त्यसको पल्लो किनारामा धकेलिएकी छन्, यसपटक । अब आरजूको राजनीतिक यात्रा कस्तो रहला ? यसबारे कांग्रेस नेताहरु नै अनुत्तरित छन् । –अनलाइन खबरबाट
।