सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहरले ब्यूझिएको नरैनापुर

बाँके । गत जेठ ७ गते बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भनेका थिए, ‘गाउँपालिकामा कोरोना संक्रमणको स्थिति नियन्त्रणबाहिर पुगिसकेको छ । सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रुँदैछु ।’ त्यसयता धेरै सञ्चारमाध्यमहरूले त्यहाँको स्थितिका बारेमा फूल कभरेज दिए । संघीय सरकारले वास्ता गर्न थाल्यो ।

क्वारेन्टाइन व्यवस्थापन गर्न सरकारले ५० जना जति सेना खटायो । अहिले तिनै अध्यक्ष भन्छन्, ‘स्थिति कन्ट्रोलमा आयो । यसका लागि सञ्चारमाध्यम, संघीय सरकार र प्रादेशिक सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ त्यतिबेला भारतको मुम्बईबाट आएका एक संक्रमित गम्भीर बनेपछि एम्बुलेन्स खोज्दाखोज्दै ज्यान गुमाएका थिए ।

अध्यक्ष साहले भने, ‘अहिले १६ वटा क्वारेन्टाइन छन् र अधिकांश खाली छन् । भारतबाट आउनेको संख्यामा कमी आएको छ । त्यतिबेला १ हजार जति क्वारेन्टाइनमा थिए । सबैको परीक्षण एकैसाथ गर्न सम्भव थिएन । अहिले परीक्षणपश्चात नेगेटिभ आएकाहरू धमाधम घर जान थालेका छन् ।’ अहिले आरडिटी पोजिटिभ आएका ९० जना रहेका छन् ।

तिनीहरूको पीसीआर नमूना संकलन भइसकेको छ । एकाध दिनमा तिनीहरूको रिपोर्ट आएपछि क्वारेन्टाइन लगभग खाली हुने अध्यक्ष साहको भनाइ छ । अहिले १६ वटा क्वारेन्टाइनमा जम्मा २५० जति सम्भावित संक्रमितहरू छन् । दुई साताअघि परिस्थिति नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै नरैनापुरले संघीय सरकारलाई पत्र लेखेको थियो ।

पत्रको जवाफमा संघीय सरकारले सेना खटायो । परीक्षण किटहरू उपलब्ध गरायो । ढिलो आउने परीक्षण रिपोर्ट अलि छिटो गर्न प्रयोगशालालाई दबाब दियो । ‘दुई सातामा नरैनापुरको मुहार अलि हँसिलो भएको छ,’ अध्यक्ष साहले खुसी हुँदै भने, ‘अब कोरोनाको यो फेज आउट होस्, यो ठाउँलाई विकास गर्न के गर्नुपर्ने हो, त्यो मेरो दिमागमा बसिसकेको छ ।’

नरैनापुरमा हालसम्मको संक्रमित संख्या ११५ छ भने एकजनाको मृत्यु भएको छ । संक्रमितलाई नेपालगंजस्थित लायन्स डेन्टल अस्पताल, बेलझुण्डी कोरोना अस्पताल, कृषि विकास बैंकको तालिम केन्द्र लगायतका आइसोलेसनमा लगेर राखिएको छ । तीमध्ये धेरैजसो निको भएर डिस्चार्ज भएका छन् ।

विरोधीहरूले फैलाएको भ्रमले काम गरेन

अध्यक्ष साह स्मरण गर्छन्, ‘यहाँ समुदायकै मान्छेले कोरोनाका बारेमा भ्रम फैलाउने काम गरे । संक्रमण भएकालाई गोली हानेर मार्छन् समेत भन्न भ्याए । चेतनाको स्तर अत्यन्त न्यून हुँदा पनि हामी आत्तिएका थियौं । मान्छेहरूले क्वारेन्टाइनको नियम पालना गर्न मानिरहेका थिएनन् । खटाइएका प्रहरीहरू निरीह देखिन्थे ।’

उनले त्यतिबेला भ्रम फैलाउनेहरूलाई आफूले कारवाहीका लागि सिफारिस गरेको भए पनि अहिलेसम्म कारवाही नभएको दुखेसो पोखे । ‘विरोधीहरूले त्यतिबेला खुब भ्रम फैलाए,’ अध्यक्ष साहले भने, ‘अध्यक्षले केही गरेन भनेर ममाथि पनि आरोप लगाए । तर म आफैं चौबीसै घण्टा खटिएको थिएँ । हामी नखटिएको भए परिस्थिति नियन्त्रणमा आउँदैन थियो, विरोधीहरूको भ्रम चिरिएको छ ।’

अस्तव्यस्तताका बावजुद पनि बाटो र बिजुली पुग्दै नरैनापुरमा

अध्यक्ष साहले केही दिनमा गाउँमा बिजुली पुग्ने बताए । ‘यो संक्रमणले गाउँपालिकालाई अस्तव्यस्त बनायो, तर हामीले अन्य कामहरू पनि साथसाथै गरिरहेका थियौं । गाउँमा बिजुली थिएन, अब केही दिनमा सबै ठाउँमा पुग्छ,’ उनले भने, ‘नेपालगन्जबाट जाने बाटो पनि बनेको छ, पहिला थिएन ।’ नरैनापुर बाँके जिल्लाको सदरमुकाम नेपालगन्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा पर्छ ।

राप्तीपारि भारतसँग सिमाना जोडिएको नरैनापुरमा ६ वटा वडा छन् । नरैनापुरका जनता सामान्य किनमेल गर्न पनि भारत जाने गर्छन् । ‘बाटो बनेपछि अब त्यो स्थिति अन्त्य हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘दुर्गम गाउँपालिका हो नरैनापुर । कोरोनाले हामीलाई सिकाएको छ । अब हामी मान्छेको सोच परिवर्तन गर्न्तिर लाग्छौं ।’ दुई साताअघि कर्फ्यू घोषणा गरिएको नरैनापुरको जीवन अहिले केही खुकुलो भएको छ ।

‘कोरोनाका कारणले हामीले पाउनुपर्ने दुस्ख पाइसक्यौं जस्तो लाग्छ । परिस्थिति नियन्त्रणमै छ । बाटो र बिजुली गाउँमा पुगेपछि मुहार पूरै फेरिन्छ भन्नेमा हामी ढुक्क छौं,’ उनले अझै पनि गाउँमा स्वास्थ्यकर्मीको संख्या अपुग भएको भन्दै दुखेसो पोख्दै भने, ‘जति हुनुहुन्छ उहाँहरू एकदम धेरै खटिनुभएको छ । स्वास्थ्यकर्मी मात्र नभएर जनप्रतिनिधिहरू, सुरक्षाकर्मीहरू चौबिसै घण्टा खटियौं । त्यसैले अहिले केही भएपनि राहतजस्तो महसुस भएको छ ।’

कोरोना नियन्त्रणमा उदाहरण नरैनापुर

देशभरि संक्रमणको आतंक बढिरहेका बेला नरैनापुरले संक्रमण नियन्त्रण गरेर अन्य स्थानीय तहलाई पनि संदेश दिएको छ । कुनैबेला अनियन्त्रित बनेको नरैनापुरले अहिले केही राहत महसूस गरिरहेको छ । संघीय र प्रादेशिक सरकारले अन्य ठाउँमा पनि नरैनापुरलाई जस्तो गरेर प्राथमिकतामा राखेर काम गर्ने हो भने अन्त पनि कोरोना नियन्त्रणमा आउने अध्यक्ष साहले बताए । यद्यपि साहले अझै पनि आफूहरूले क्वारेन्टाइन व्यवस्थापन, आधारभूत आवश्यकता, बिजुली, पानी र शौचालयका लागि भनेर मागेको बजेट नआइसकेको गुनासो गरे ।

सेना परिचालनपछि स्थानीयहरू अलि बढी अनुशासित भएका छन् । क्वारेन्टाइनबाट भाग्न खोज्नेको संख्या अहिले शून्य छ । अहिले सशस्त्र प्रहरीले बोर्डर एरिया पनि राम्रोसँग हेरिरहेको अध्यक्ष साहले बताए । ‘परिस्थिति नियन्त्रणबाहिर जान लागेपछि जेजे गर्न सक्थ्यौं हामीले गरेका हौँ । कोरोनाको हटस्पट बनेका अन्य ठाउँहरूमा पनि जनप्रतिनिधिले हार खानु भएन । संघीय र प्रादेशिक सरकारसँग स्पष्ट समन्वय हुनुपर्यो । यो जित्न सकिने युद्ध हो ।’

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार ०९:२४