
डोल्पा । निजी हेलिकप्टर कम्पनीको मनोमानीका कारण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षणमा ठुलो चुनौति देखिएको छ । निकुञ्जको अनुमति बिनानै निजी कम्पनीका हेलिकप्टरहरु संरक्षित क्षेत्रमा निर्वाधरुपमा आवतजावत गर्न थालेपछि संरक्षणमा चुनौति देखिएको हो । नागरिक उद्दार, यात्रु ओसार्ने वा खाद्य सामाग्री ढुवानी गर्ने निहुमा निकुञ्ज क्षेत्रमा मनपरीरुपमा हेलिकप्टर उडाउँदा संरक्षित जडिबुटी, दुर्लभ वन्यजन्तु र गुम्बाहरुमा राखिएका बहुमुल्य मूर्तिहरु संरक्षणमा चुनौती देखिएको निकुञ्जले जनाएको छ ।
सिम्रिक, माउन्टेन, एयर डाइनेष्टी, कैलाश एयर, मनाङ्ग एयर लगायतका निजी हेलिकप्टर कम्पनीले निकुञ्ज क्षेत्रमा जथाभावि उडान गर्ने गरेको निकुञ्जले जनाएको छ । ‘बिभिन्न बहानामा काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत लगायतका सहरबाट निजी कम्पनीका हेलिकप्टरहरु निकुञ्जको मध्यवर्ती क्षेत्रमै अवतरण गरेर आफ्नो व्यापार सकेर फर्कने गर्छन्,’ निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले भने । निकुञ्ज स्थापना भएदेखिनै संरक्षित क्षेत्रमा निजी हेलिकप्टर कम्पनीले आफ्नो रवाफ देखाउँदे आएका छन् ।
‘निकुञ्जको अनुमतिबिनै आउने जाने, राजश्व नतिर्ने, निकुञ्जका कर्मचारीद्धारा जाँच नगराएरै निर्वाधरुपमा आवतजावत गर्ने गरेको पाएँ । निकुञ्जजस्तो संवेदनशील क्षेत्रमा यसरी मनोमानी गर्ने हेलिकप्टर कम्पनीले दुर्लभ वन्यजन्तुको आखेटोपहार, बहुमुल्य जडिबुटी, निकुञ्ज क्षेत्रमा रहेका बहुमुल्य मूर्तिहरु लगायत सामानहरु अवैध ओसारपसार नगर्लान् भनेर भन्न सकिँदैन्,’ पौडेलले थपे । आठ महिनाअघि निकुञ्जका संरक्षण अधिकृतको जिम्मेवारी सम्हालेका उनले आफू आइसकेपछि पर्यावरण संरक्षणको सवालमा कुनै पनि कुरामा सम्झौता नहुने बताए ।

उनले भने, ‘अपराधी उम्कदैनन्, दोषी फस्दैनन् ।’ बिस २०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो निकुञ्ज विश्वमै दुर्लभ हिँउ चितुवा, नाउर, घोरल लगायतका संरक्षित वन्जन्तुको मुख्य बासस्थान हो । बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने ७० प्रतिशत यार्सा पाटनहरु पनि निकुञ्ज क्षेत्रभित्रै पर्दछन् । शे–फोक्सुण्डो निकुञ्ज रामसार सूचीमा पनि सूचीकृत भइसकेको छ । निकुञ्ज क्षेत्रमा एक पटक हेलिकप्टर ल्याण्ड गर्दा तीन हजार रुपैयाँ राजश्व तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
सुकुटीसहित समातियो सिम्रिक हेलिकप्टर
गत बिहिबार शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको साल्दाङ्गका नागरिकहरु बोकेर सिम्रिक एयरको हेलिकप्टर काठमाडौंबाट डोल्पा सदरमुकाम दुनैमा अवतरण गर्यो । दुनैमा प्रहरीलाई जाँच गराएर हेलिकप्टर उपल्लो डोल्पाको साल्दाङ्ग उड्यो । दुनैमा रहेको हेलिप्याड पनि शे–फोक्सुण्डो निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रभित्र पर्छ । निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा अवतरण गर्ने हेलिकप्टरलाई आउँदा जाँदा निकुञ्जका कर्मचारी र नेपाली सेनाद्धारा जाँच गराएर मात्र उड्नुपर्ने कानुनी व्यवस्था छ ।
त्यतिमात्र नभई निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरण गर्नपूर्व अनुमति लिनुका साथै निकुञ्जका एकजना कर्मचारीसँगै लिएर जानुपर्ने व्यवस्था पनि छ । तर, त्यो दिन सिम्रिक एयरको हेलिकप्टर निकुञ्जलाई कुनै पनि जानकारी नदिएर साल्दाङ्ग उडेको निकुञ्जले जनाएको छ । कर्मचारी संयन्त्रबाट हेलिकप्टर उडेको थाहा पाइसकेपछि जाँचका लागि निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्मको सेनाको टोली दुनै पठाइयो । साल्दाङ्गबाट हेलिकप्टर नआँदै निकुञ्जको टोली हतारहतार गरेर दुनै पुग्यो ।

कुनै अनुमति नलिएरै निकुञ्जको मध्यवर्ती क्षेत्रमा उडेको हेलिकप्टरलाई आवश्यक सोधपुछसँगै जाँच गर्न निकुञ्जको टोली तयारी अवस्थामा थियो । हेलिकप्टर फर्केपछि निकुञ्जको टोलीले जाँच सुरु गर्यो । ‘हेलिकप्टरमा निगरानी गर्ने भन्दै दुनैबाट सँगै उडेका एक जना प्रहरीका इन्स्पेक्टर पनि थिए, केही सामानहरु थियो,’ जाँच गर्ने एक कर्मचारीले भने । जाँचका क्रममा हेलिकप्टरले ल्याएको सामान खोतल्दै जाँदा आधा किलो संरक्षित वन्यजन्तुको जस्तो देखिने मासु फेला परेको निकुञ्जका संरक्षण अधिकृत पौडेलले बताए ।
त्यसपछि हेलिकप्टर ग्राउण्डमै खैलाबैला मच्चियो, निकुञ्जको टोली थप गम्भीर भएर सोधपुछमा लाग्यो । हेलिकप्टरका चालकलाई मासु कसले ल्यायो भनेर केरकार गर्न थालेपछि उनले प्रहरी हवल्दारले मासु हालेको र प्रहरी इन्सपेक्टर पनि सँगै आएको बताए । ‘हामीले त्यतिखेर नै पाइलटलाई निकुञ्ज कार्यालय ल्याएर बयान लिने तयारी गरेका थियौँ, तर सेनाले जाँचबुझ गर्दागर्दै यात्रु कराए भन्दै हेलिकप्टर स्र्टाट गरेर पाइलट भागे,’ संरक्षण अधिकृत पौडेलले भने ।
त्यसपछि सेना र निकुञ्जको टोली सुलिगाड फर्कियो । शनिवार फेरी ढाड भाचिँएको बिरामी लैजाने भन्दै सिम्रिक एयरको हेलिकप्टर दुनै पुग्यो, त्यहि मौका पारेर निकुञ्जका संरक्षण अधिकृत पौडेलसहित सेनाको टोली फेरी दुनै पुग्यो र तिनै पाइलटसँग सोधपुछ सुरु गर्यो । ‘पाइलटले गत १५ गतेकै कुरा दोहोर्याउँदै भने, ‘प्रहरी हवल्दारले मासु हालेको र इन्सपेक्टर सँगै थिए, यसमा मेरो के दोष ?’ शनिवार पनि उनलाई भिडियो बयानसँगै लिखित बयान लिने कुरा थियो, तर ढाड भाँचिएको बिरामीको अवस्था गम्भीर भएकाले उनलाई कागज गरेर छोडेको पौडेलले बताए ।

यस्तो भन्छन् पाइलट
हामिले पाइलटसँग यस विषयमा बुझ्दा आफुलाई केहि पनि थाहा नभएको र दुनैमा पुगेर सेनाले सामान चेक गर्दा आफुले थाहा पाएको बताए । ‘मेरो काम हेलिकप्टरलाई कसरी सुरक्षित तरिकाले अवतरण गर्ने र गन्तब्यमा पुरयाउने भन्ने हो, हेलिकप्टरमा वैध वा अवैध सामान के हाल्छन् भनेर जाँच गर्ने जिम्मा सुरक्षाकर्मीको हो,’ ती पाइलटले भने, ‘हेलिकप्टरको निगरानीका लागि दुनैबाटै प्रहरी इन्सपेक्टर आफुसँग जानुभएको हो, साल्दाङ्गमा प्रहरी हवल्दारले पनि चेक गर्नुभयो, उहाँहरुले आफैले मासु हाल्नुभएको हो, यसमा मलाई जानजकारी छेन ।’
पाइलटको लिखित बयान लिइसकेपछि उक्त बयानको आधारमा प्रहरी इन्सपेक्टर र प्रहरी हवल्दारको पनि बयान लिने निकुञ्जका संरक्षण अधिकृत पौडेलले बताए । निकुञ्ज क्षेत्रबाट उडेको हेलिकप्टरमा संरक्षित वन्यजन्तुको जस्तो सुकुटी भेटिएको डोल्पामै पहिलो घटना हो । बरामद गरिएको मासु संरक्षित वन्यजन्तुको जस्तो देखिए पनि थप प्रमाणित गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको निकुञ्जले जनाएको छ ।
अनुसन्धानमा सघाउँछौं : डिएसपी
संरक्षित वन्यजन्तु संरक्षण गर्नु प्रहरीको पनि दायित्व भएकाले निकुञ्जको अनुसन्धानमा आफुहरुले पनि सघाउने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए । उहाँका अनुसार प्रहरी इन्सपेक्टर हेलिकप्टरको निगरानीका लागि इन्सपेक्टर जिल्लाबाटै साल्दाङ्ग गएका हुन् । बिरामी झार्नेबित्तिकै हेलिकप्टर उडाउने गरि इन्जिननै बन्द गरिएको थिएन, हतार भएकाले बोरामा सिलायर हालेको सामान राम्रोसँग खोलेर चेक गर्न नसकिएको घटनामा जोडिएका इन्सपेक्टरले बताए ।
‘दुनै पुगेर नेपाली सेनाले चेक गर्दा मासु भेटिएको हो, यसमा कसले हाल्यो के गर्यो अनुसन्धानपछि थाहा होला, त्यसमा प्रहरी दोषी देखिए पनि कानुनी कारवाही भोग्नुपर्छ,’ डिएसपी रञ्जितकारले थपे । यो घटनापछि डोल्पा आउने र जाने हेलिकप्टरलाई कडाइका साथ चेक गर्न निर्देशन दिइसकेको डिएसपी रञ्जितकारले बताए । सामान हालिएको र समय अभावका कारण राम्रोसँग चेक गर्न नभ्याइएको भन्ने कुरा इन्सपेक्टरले बताएको डिएसपी रञ्जितकारको भनाई छ ।

अनुसन्धान भइरहेको छ : सिडियो
सिम्रिक एयरको हेलिकप्टरले मासु ल्याएको घटनाको बिषयमा अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । बन्यजन्तु वन पैदावर संरक्षण गर्नु सबैको दायित्व भएकाले निकुञ्ज क्षेत्रमा हेलिकप्टरले मनपरि गर्न नहुने बताए । ‘निकुञ्ज क्षेत्रमा गृह मन्त्रालयको अनुमति लिएर तत्काल रेस्क्यु गर्नुपर्ने हुन्छ । निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउन आफ्नो अनुमति लिनुपर्छ,’ प्रजिअ सुनारले भने ।
राज्यको बाझिँदो नीतिले कहिलेकाहीँ निकुञ्ज र प्रशासनबीच समस्या उत्पन्न हुने गरेको प्रजिअको भनाई छ । उनले भने, ‘हेलिकप्टरले बदमासी नगरुन् भनेर प्रत्येक फ्लाइटमा प्रहरी पठाउने गरेको छौँ, त्यतिमात्र नभई बदमासी गरे कारवाहीका लागि सिफारिससमेत गछौँ ।’ निकुञ्ज क्षेत्रमा रेस्क्युका लागि निकुञ्जकै अनुमति लिनुपर्ने भए पनि गृह मन्त्रालयले वन मन्त्रालयलाई जिम्मेवारी दिनुपर्ने प्रजिअ सुनारको भनाई छ ।
#युगन्युजबाट
सत्यपाटी ।