सूचनाको शक्ति - The Power Of Information

        

दुर्घटनाका घाइतेले भने, ‘चालकले रक्सी पिएर तीव्र गतिमा गाडी हुँइक्याए’

बाँके । बन्दाबन्दीको समयमा बाँकेमा गएराती भयानक दुर्घटना भयो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ । गएराती बाँकेको राप्तीसोनारी गाउँपालिका–१ स्थित अगैया नजिकै ठुरिया जंगलमा दुर्घटना भएको गाडीका चालकले मदिरा (रक्सी) सेवन गरेको खुलेको छ ।

रुपैडिया नाकाबाट गाडीमा आएका घाइते रोल्पाका वीरेन्द्र परियारले चालकले आइतवार साँझ ८ बजे गाडी चलाउनुअघि मादक पदार्थ सेवन गरेको बताए । ‘गाडीमा चालकसहित तीन जना स्टाफ थिए । दुईले जना मदिरा पिएर स्पष्टसँग बोल्नसमेत सकिरहेका थिएनन् । रक्सी खाएका दुई जनामध्ये एक जनाले गाडी चलाइरहेका थिए । रक्सी नखाएका एक जनाले यात्रुहरुसँग पैसा उठाइरहेका थिए,’ घाइते वीरेन्द्र परियारले भने ।

यस्तो छ, घाइतेको भनाई :

रुपैडिया नाकाबाट बेलुका ८–९ बजेतिर गाडी चढेका थियौं । गाडीका सिट लगभग सकिन लागेकाले पछाडिको ३ वटा सिट पायौं । म (वीरेन्द्र परियार) र मेरा गाउँका २ जना साथी थियौं । हामी दाङसम्म आउने भएकाले ७–७ सय रुपैयाँ भाडा तिरेका थियौं र सँगै पछाडिको सिटमा अन्य ३ जना हुनुहुन्थ्यो । उहाँहरूले सल्यानसम्मको १५ सय भाडा तिर्नुभएको थियो ।

म त सुतेको थिएँ गाडी दुर्घटना हुँदा तर पहिलादेखि नै गाडी फुल स्पीडमा चलाइराखेको थियो ड्राइभरले । हामीले अलि स्लो चलाउन पनि भनेका थियौं तर मानेन कि सुनेन । एक ठाउँको ओरालोमा त झण्डै दुर्घटना भएन तर पनि गाडीको रफ्तार उस्तै थियो । म झपक्क निदाए छु, दुर्घटना भएर उठ्दा त गाडी ट्रकको पछाडि ठोक्किएको थियो ।

मानिसहरू रक्ताम्मे थिए । कोही चिच्चाइरहेका थिए । मैले घर फोन गरें । एम्बुलेन्स पठाउन भने तर त्यसपछि त म पनि बेहोस भएछु । म पछाडि बसेको भएर भाग्यले बाँचे । मेरो छातीमा चोट लागेको छ । मेरा साथीहरूको खुट्टा भाँचिएको छ र अर्का साथीको ढाड नै भाँचिएको छ । चण्डीगढबाट बस चढेर २४ घण्टा लगाएर नाकामा आएका थियौं ।

स्थानीय तह र यात्रुको समन्वय थिएन

दुर्घटना भएको गाडीमा रहेका भारतबाट आएका कुनै पनि यात्रुको स्थानीय तहसँग समन्वय नरहेकोसमेत खुलेको छ । स्थानीय तहको समन्वय विना सीमानामा प्रवेश गर्न नदिने भनिए पनि गाडीमा रहेका यात्रु समन्वय बिनै गन्तव्यमा भइरहेका थिए । सल्यानको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले गाउँपालिकासँग कुनै पनि समन्वय नभएको बताए ।

दुर्घटना भइसकेपछि मात्र गाडी आफ्नो गाउँपालिकातर्फ आइरहेको थाहा भएको अध्यक्ष चलाउनेले बताए । दाङको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पनि आफूहरूलाई कुनै पनि सम्पर्क नगरी यात्रुहरू आएको बताए । ‘बिहान उहाँहरूका घरपरिवारले एम्बुलेन्स चाहियो भने पछि मात्रै मैले थाहा पाएको हुँ । उहाँका आफन्तहरू एम्बुलेन्स लिएर घटनास्थल जानुभएको थियो,’ उनले भने ।

रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले ती यात्रुलाई भीडभाडमा नआउन र छुट्टै गाडी व्यवस्था गरेर आउनु भनेको बताए । उनले लोकान्तरसँग भने, ‘उहाँहरूले हामीलाई सम्पर्क गर्नुभएको थियो तर हामीले दाङसम्म आउनु त्यहाँबाट यता गाउँपालिकाले गाडी व्यवस्था गर्छ भनेका थियौं तर त्यसरी आउन भने हामीले भनेका होइनौं ।’ दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते छन् ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये ११ जनाको नाम पहिचान भएको छ भने एक जनाको नामसमेत अझै खुलेको छैन । अहिलेसम्म पहिचान भएका मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ । दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा दाङको धर्नाका ४५ वर्षीय मेघराज केसी, तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी, राजपुरका २१ वर्षीय जीवन घर्ती, राजपुर गाउँपालिकाका २० वर्षीय दिपेश चौधरी, तुलसीपुर उपमहानगरपालिकाका २३ वर्षीय रुपलाल केसी र २० वर्षीय भरत थापा छन् । रोल्पाको त्रिवेणी गाउँपालिकाका १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, कुरैती गाउँपालिकाका ५२ वर्षीय नरबहादुर विक, टुटुका ४० वर्षीय दिलबहादुर विकले घाइते भएका छन् ।

त्यस्तै सल्यानको कुपिण्डेदह गाउँपालिकाका २० वर्षीय मिनराज विक, सिद्धकुमाख गाउँपालिकाका तेजबहादुर बुढाथोकी, २८ वर्षीय लोकेश घर्ती, १८ वर्षीय धनबहादुर बोहरा, ५२ वर्षीय दीपबहादुर बुढा, शारदा गाउँपालिकाका टीका चलाउने र शिव भण्डारी, सिद्धकुमाख गाउँपालिकाका २६ वर्षीय निमबहादुर वादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञानबहादुर बोहरा समेत घाइते छन् । घाइते सबैको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । ना५ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १४:५२