सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सांसदको बयान : मैले भारतमा चौकीदारी गरेकै हुँ


रामहरि ओझा । डोटी । प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचार चलिरहेका थियो, केहीले सामाजिक सञ्जालमा लेख्न भ्याए, ‘बम्बैका चौकीदारलाई राजनीति गर्न आउँदैन ।’ तर, तिनै ‘चौकीदार’ नेतालाई जनताले आफ्नो नेता बनाएर जिताएका छन् । डोटी प्रदेशसभा ‘क’बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य त्रिलोचन भट्ट ‘संकल्प’ले बाजी मारेका छन् ।
केआई सिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन १४ वर्षको उमेरमै रोजगारीका लागि भारत भए । गाउँमा ५ कक्षासम्म विद्यालय थियो । पाँच पास गरेपछि टाढाको विद्यालयमा पढ्न पारिवारिक अवस्थाले साथ दिएन । पढाई छोडेर घरमै बसेका भट्ट बिरामी परेपछि भारतमा काम गर्दै गरेका उनका दाजुले उपचारका लागि उतै लगे । उपचारपछि भट्ट भारतमै काम गर्न थाले ।
भट्टले केही समय पञ्जावमा बिताए । त्यसपछि बम्बे (मुम्बई) पुगे, जहाँ मजदुर युनियनको संगत गर्ने मौका पाए । उनले ०४७ सालमा अखिल भारत नेपाली एकता समाजमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरे । ०५२ सालमा स्वदेश फर्किए र बिहे गरे । मंसिरमा बिवाह गरेका भट्ट फागुनमा तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहको घोषणा गरेपछि फेरि भारत गए र संगठनमा सक्रिय भए । जागिरमा त्रिलोचन भट्ट भनेर चिनिएका उनी राजनीतिमा भने ‘संकल्प’ भनेर परिचित बन्दै गए ।
०५६ सालसम्म नोकरीसँगै राजनीतिलाई एकसाथ अगाडि बढाएका उनी त्यसपछि भने पूर्णकालीन कार्यकर्ता बने । नेपालमा सशस्त्र संघर्ष चर्कदै गएपछि भारत सरकारले एकता समाजमाथि प्रतिवन्ध लगायो । त्यसपछि नेपाली जनअधिकार सुरक्षा समिति गठन भयो र भट्टरले महाराष्ट्र राज्यसमिति संयोजकको जिम्मेवारी पाए । भट्टले ०६१ सालमा स्वदेश फर्किएर सक्रिय राजनीति गर्ने निर्णय गरे र डोटी आएर भूमिगत भए ।
माओवादी वृत्तमा सोझा र इमान्दार राजनीतिज्ञको रुपमा आफ्नो पहिचान बनाएका भट्ट खुला जिल्ला इन्चार्ज हुँदै पार्टी पोलिटव्यूरो सदस्य बनेका छन् । संविधानसभाको दुबै चुनावमा उम्मेदवार बनेका उनी जित्न सकेनन् । तर, यसपटक बाजी मारे । ‘संसदीय राजनीतिक अभ्यासमा चुनाव हार्नु र जित्नु सामान्य कुरा हो,’ भट्ट भन्छन्, दुई–दुई पटक चुनाव हारेर पनि जनताको सेवामा सधैं सक्रिय रुपमा लागिरहेको थिएँ, अहिले जितेपछि थप जिम्मेवारी महसुस गरेको छु ।’
बिपक्षीले ‘बम्बैको चौकीदार’ भनेर लगाएको नारा उनका लागि फलिफाप सावित भयो । डोटीबाट भारतमा गई काम गर्नेहरुका परिवारले विपक्षीको नाराको मुखतोड् जवाफ दिएको भट्ट बताउँछन् । ‘हो, मैले भारतमा गएर चौकीदारी गरेको हुँ, यसमा मलाई कुनै प्रकारको आत्मग्लानी छैन,’ भट्टले भने ‘तर, चौकीदारी गर्नु मेरो रहर थिएन, बाध्यता थियो, जो मजस्तै लाखौं नेपालीहरुको बाध्यता हो ।’ गरीबी र वेरोजगारी आफूले राम्रोसँग भोगेको बताउँदै उनले जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि भूमिका निर्वाह गर्ने बताए ।
‘भारतमा काम गरिरहेका सबै नेपालीलाई अहिल्यै नेपालमै रोजगारी दिन सकिन्छ भन्न त सकिँदैन, तर भारतमा गएर काम गरिरहेकाहरुका कठिनाइहरु कम गर्नका लागि म प्रयासरत रहन्छ,’ उनले भने । खुला राजनीतिमा आएपछि केही समययता तरकारी खेतीमा सक्रिय भट्ट राजनीतिलाई पेशा मान्दैनन् । भन्छन्, ‘राजनीति पेशा होइन, समाजसेवा हो । तर राजनीतिकर्मीहरुले राजनीतिलाई पेशाको रुपमा बुझेर समस्या भएको हो ।’ प्रत्येक राजनीतिक कार्यकर्ताले कुनै न कुनै पेशामा आवद्ध भएर आफ्ना आधारभूत आवश्यकता पूरा गर्न्तिर लाग्नुपर्ने उनको धारणा छ । राजनीतिक अधिकारको लडाइँ करीव–करीव एउटा बिन्दुमा पुगेको र आर्थिक समृद्धिको लडाइँलाई अबको मुख्य मुद्दा बनाउनु पर्ने भट्टको भनाइ छ । –अनलाइन खबरबाट

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०७:०१