दुर्घटनाका घाइतेहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार हुँदै । तस्वीर : कमल न्यौपाने
बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु भएकामध्ये ११ जनाको नाम पहिचान भएको छ भने एक जनाको नामसमेत अझै खुलेको छैन । नाम पहिचान भएका मृतकको ठेगाना भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म पहिचान भएका मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ भने एक जनाको नामसमेत खुल्न सकेको छैन ।
यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । उनीहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।
दुर्घटनामा परेकाहरु सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यान जिल्लाका रहेका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ बर्षिया टिका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० बर्षिय मीनराज बिक र ५२ बर्षिय दिपबहादुर बुढा रहेका छन् ।
त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ का छापडाँडाका १८ बर्षिय धनबहादुर बोहरा, २६ बर्षिय निमबहादुर वली, दहका ४० बर्षिय तेजबहादुर बुढाथोकी, १८ बर्षिय देवेन्द्र खड्का, १७ बर्षिय ज्ञानबहादुर बोहरा, वडा नं. ४ चाँदेका २८ बर्षिय लोकेश घर्ती र २६ बर्षिय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन ।
दाङ्ग घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० बर्षिय दिपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ बर्षिय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० बर्षिय भरत थापा र तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ बर्षिया विष्णु गिरी र २३ बर्षिय रुपलाल केसी घाइते भएका छन् ।
त्यसैगरी घाइते हुनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ बर्षिय सुनिल परियार, २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, टुटुका ४० बर्षिय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ बर्षिय नरबहादुर बिक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
गएराती नेपालगन्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो ।
मृतक, घाइते र उद्दारमा खटिएका सुरक्षाकर्मीको कोरोना परिक्षण गरिँदै
दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरुमा कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब संकलन गरेर परिक्षण थालिएको छ । मृतक तथा घाइतेहरु सबै भारतबाट आएकाले उनीहरुमा कोरोना संक्रमणको जोखिम रहेकाले स्वाब संकलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।
‘कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मृतकमा कोरोना भाइरस संक्रमण भए/नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब संकलन गरिएको हो,’ निमित्त मेसु थापाले भने, ‘मृतकमा कोरोना संक्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने संक्रमण देखिएमा सोही अनुसार शव व्यवस्थापन गरिनेछ ।’ परिक्षण रिपोर्ट आजै साँझसम्म आउने जनाइएको छ ।
घाइते तथा मृतकहरुको कोरोना परिक्षण रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुको पनि स्वाब संकलन गरेर परिक्षण गरिनेछ ।’ निमित्त मेसु थापाले सबैको पिसिआर विधिवाट चेकजाँच हुने जानकारी दिए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि खटिएको जानकारी दिए ।
‘उद्धारमा खटिएका सुरक्षाकर्मीहरुलाई अलग राखिएको छ,’ उनले भने, ‘मृतक तथा घाइतेको रिपोर्टका आधारमा उनीहरु सबैको कोरोना परीक्षण गरिनेछ,’ प्रहरी उपरीक्षक वलीले भन्नुभयो, ‘मृतक तथा घाइतेहरुको उद्धारका लागि प्रयोग भएका सुरक्षाकर्मीका सबै गाडीमा स्यानीटाइजर प्रयोग गरिएको छ ।’
सुरक्षाकर्मीले घाइतेलाई समातेरै उद्दार गरेकोले उद्दारमा खटिएकाहरुको पनि चेकजाँच हुने उनले बताए । ‘पहिला घाइते तथा मृतकको स्बाव संकलन गरेर कोरोना परिक्षण थालिएको छ,’ प्रहरी उपरीक्षक वलीले भने, ‘त्यो रिपोर्ट हेरेर उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुनेछ ।’
सत्यपाटी ।