सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले बनायो ‘इएमडीटी’ निर्देशिका

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुको अभाव हुनसक्ने तथ्यलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ इमर्जेन्सी मेडिकल डिप्ल्योमेन्ट टिम (इएमडीटी)’ परिचालन सम्बन्धी निर्देशिका तयार पारेको छ । मन्त्रालयले पछिलो साता दैनिक औसतमा ४६ जना संक्रमित थपिँदै गएको भन्दै सीमावर्ती जिल्लामा संक्रमण दर उच्च हुँदै गर्दा ती क्षेत्रमा स्वास्थ्यकर्मीहरुको अभाव हुन सक्ने आंकलन गरेको छ ।

संक्रमित थपिँदै गर्दा उपलब्ध स्वास्थ्यकर्मीहरु कोभिड–१९ का संक्रमितको उपचारपछि बिदामा बस्नुपर्ने तथा संक्रमितसँगको सम्पर्कपछि क्वारेन्टाइनमा समेत बस्नुपर्ने भएका कारण हब अथवा हब र स्याटेलाइट हस्पिटलबाट मोबाइल टिम व्यवस्थापन गरी स्वास्थ्यकर्मी अभाव भएका अस्पतालमा परिचालन गर्नका लागि निर्देशिका तयार भएको हो । निर्देशिकाअनुसार तयार भएको एक इएमडीटीले ५० जना सामान्य लक्षण देखिएका संकास्पद अथवा पुष्टि भएका कोभिड–१९ का संक्रमितको व्यवस्थापन गर्ने उल्लेख छ ।

यदि विरामीहरुमा थप कडा लक्षण देखा परे आवश्यक विज्ञसहितको टोलीसमेत परिचालन गरिने र त्यस्ता संक्रमितलाई नजिकैको माथिल्लो तहको कोभिड–१९ विशेष अस्पतालमा पठाइने उल्लेख छ । संक्रमितहरुका लागि विज्ञहरुमार्फत् टेली–कन्सल्टेसन सुविधा उपलब्ध गराइने समेत निर्देशिकामा उल्लेख छ । हरेक हब अथवा हब स्याटेलाइट अस्पतालले दुई वटा कोभिड–१९ सम्बन्धी इएमडीटी तयार गर्नुपर्ने निर्देशिकमा उल्लेख छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।

हब अस्पतालले स्वास्थ्यकर्मी उपलब्ध गराउन नसके उसले स्याटेलाइट हस्पिटलको मद्धतबाट स्वास्थ्यकर्मीको व्यवस्था गर्न सक्ने बताइएको छ । यसरी तयार हुने इएमडीटीमा एक जना फिजिसियन (जुनियर कन्सल्टेन्ट वा माथिल्लो तहको) एक जना डाक्टर (आवासीय एमडी अथवा माथिको) ६ जना नर्स वा हेल्थ एसिस्टेन्ट र तीन जना अटेन्डेन्ट रहने व्यवस्था गरिएको छ । अटेन्डेन्ट अन्तिम तीन चरणमा मात्र यो टोलीसँग जोडिने निर्देशिकामा उल्लेख छ । यसरी तयार हुने टोलीको नेतृत्व वरिष्ठ चिकित्सकले गर्नेछन् ।

यसरी तयार हुने टोलीले सात दिनसम्म १२ घण्टको सिफ्टमा काम गर्नेछ । र, टोलीलाई अर्को टोलीले परिवर्तन गर्नेछ । टोली सदस्यहरु क्वारेन्टाइनमा बस्नु नपर्ने अवस्थामा अटेन्डेन्टहरु आवश्यक नपर्ने उल्लेख छ । विरामीहरुको अवस्थाका आधारमा थप टोलीसमेत परिचालन गर्न सक्ने बताइएको छ । हब अस्तालहरुले स्वास्थ्यकर्मीहरु (कर्मचारी)को सूची स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने र हेल्थ इमरजेन्सी अपरेसन सेन्टरले परिचालन गर्ने निर्देशिकामा उल्लेख छ । यसरी तयार पारिने इएमडीटी टोली सदस्यहरु यात्रा गर्न सक्ने र ४५ वर्षभन्दा कम उमेरका हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, डाइबेटिज, हाइपरटेन्सन तथा मानिसको प्रतीक्षा प्रणालीलाई ह्रास पुर्याउने खालका औषधी सेवन नगरेको हुनुपर्ने उल्लेख छ । टोली सदस्यहरुले सीएमटी अनलाइन ट्रेनिङसमेत लिनुपर्नेछ । उनीहरुलाई दुई दिनसम्म कोभिड–१९ सम्बन्धी राष्ट्रिय रणनीति तथा व्यवस्थापन योजना, कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन नीति, स्वासप्रस्वास रोग सम्बन्धी व्यवस्थापन, अन्य कोभिड–१९ का लक्षणहरुको व्यवस्थापन, भेन्टिलेटर सपोर्ट व्यवस्थापन, संक्रमितको शव व्यवस्थापन, पीपीई व्यवस्थापन, बिरामीहरुको ट्रान्सफर लगायतको तालिम दिइनेछ । यसरी खटिने टोलीका सदस्यहरुले बिरामीहरुको सम्मान गर्नुपर्नेछ ।

त्यस्तै उपलब्ध स्रोत साधनको प्रयोग गरी काम गर्नुपर्ने समेत निर्देशिकामा उल्लेख छ । अस्पतालका अन्य कर्मचारीहरुसँग नम्र तथा सम्मानपूर्वक रुपमा व्यवहार गर्नुपर्नेछ । अस्पतालका सामाग्री तथा अन्य सेवाहरुको सम्मान गर्नुपर्ने तथा स्थानीय संस्कृतिको सम्मान गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यसरी काम खटिने इएमडीटीका चिकित्सको जिम्मेवारी आफ्ना टोली सदस्यको सुरक्षामा ध्यान दिनुपर्नेछ । त्यस्तै उपलब्ध स्रोत साधनको प्रयोग गरी उत्तम सेवा दिने जिम्मेवारी चिकित्सको रहने निर्देशिकामा भनिएको छ । यसरी खटिने नर्सहरुले परिश्रम र समानुभूति सहित विरामीको सेवा गर्नुपर्ने निर्देशिकामा भनिएको छ ।

त्यस्तै आफ्नो तथा विरामीको सुरक्षाका उपाय अपनाउनुपर्ने जिम्मेवारी नर्सको रहेको बताइएको छ । विरामीलाई सरसफाइ सम्बन्धी सीप नर्सले सिकाउनुपर्नेछ । त्यस्तै, अटेन्डेन्टलाई यदि कुनै अस्पतालका कर्मचारीहरु क्वारेन्टाइनमा जानुपर्ने अवस्था आएमा आवश्यक पर्दा बोलावट आएपछि मात्र जानुपर्नेछ । यसरी कोभिड–१९ को इएमडीटीमा रहेका सदस्यहरुको जीवन बीमा मन्त्रालयले गरिदिने निर्देशिकामा उल्लेख छ । स्वास्थ्य टोलीलाई तालिम लगायतका खर्च मन्त्रालयले व्यहोर्नेछ । साथै सरकारको नीति अनुरुप टोली सदस्यहरुको टीए/डीए भत्ता उपलब्ध गराउनेछ । आवश्यकता अनुरुप जोखिम भत्तासमेत टोली सदस्यलाई मन्त्रालयले उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १६:१२