बाँके । बाँकेका आठवटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । बिहीबारसम्म यहाँका ६ वटा स्थानीय तहमा कोरोना संक्रमितहरु फेला परेका छन् । हालसम्म कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यी बाहेक नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, राप्तीसोनारी, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकामा कोरोना संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । पछिल्लो पटक मंगलबार बैजनाथ गाउँपालिकाका एक जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबारसम्मको तथ्यांक अनुसार बाँकेपछि सबैभन्दा धेरै संक्रमित नरैनापुर गाउँपालिकामा ११२ जना रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा २६ जना, राप्तीसोनारी गाउँपालिकामा १३ जना, डुडुवामा ८ जना, बैजनाथमा ७ जना र खजुरा गाउँपालिकामा ३ जना कोरोना संक्रमित रहेका छन् भने एक जना गुल्मी जिल्ला गरी १७० जना रहेका छन् । कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन् । संक्रमितमध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार एक÷एक जना रहेका छन् ।
कोरोना संक्रमितको संख्या उच्च देखिएसँगै बाँकेमा परिक्षणलाई तीव्र बनाइएको छ । कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ स्थानहरु र त्यस स्थानमा आशंका गरिएका मानिसमा कोरोना परिक्षण गर्ने कामलाई तीव्रता दिइएको उनले बताए । कोरोना फोकल पर्सन श्रेष्ठले भने, ‘अहिले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बचाउन कन्ट्रयाक्ट ट्रेसिङ्ग र टेस्टिङ्गको दायरा फराकिलो बनाएका छौं ।’
बाँकेमा बिहीबारसम्म दुई हजार ५५३ जनाको पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परिक्षण भएको छ । बाँकेमा हालसम्म ११ महिला र १४ पुरुष गरी २५ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । हालसम्म तीन महिला र १४३ पुरुष गरी १४६ जनाको विभिन्न आइसोलेसन अस्पताल तथा सेन्टरमा राखेर उपचार भइरहेको छ । दाङ्गको बेलझुण्डी अस्पतालमा उपचाररत आठ जनामध्ये तीन जना निको भएर आजै घर फर्किँदैन् भने १३८ जनाको बाँकेमै उपचार भइरहेको छ ।
बाँकेमा ३३६ बेडसहित आइसोलेसन सेन्टर र अस्पतालको संख्या ११ छ । जसमध्ये ५३ वटा आइसीयु र २१ वटा भेन्टिलेटर छन् । संकलन गरिएको नमूनामध्ये ४३१ जनाको ¥यापिड डाइग्नोस्टिक किट (आरडीटी) परिक्षण बाँकी रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लाभर हालसम्म दुई हजार २९६ जनाको आरडीटी परिक्षण भएकोमा दुई हजार २१० वटा नेगेटिभ र ८६ वटा पोजेटिभ रिपोर्ट देखिएको थियो ।
आरडीटी र पीसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरु घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । आठ वटा स्थानीय तह रहेको बाँकेमा चार हजार १४१ बेडसहितका ८४ वटा क्वारेन्टाइन निर्माण गरिएका छन् । ती क्वारेन्टाइनमा ३४१ महिला र दुई हजार ८५८ पुरुष गरी तीन हजार १९९ जनालाई राखिएको छ । कोरोना संक्रमित भेटिन थालेपछि बाँकेमा कोरोना परिक्षणको दर बढाइएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आरडीटी र पीसीआर दुवै विधिबाट परिक्षणको दायरा बढाइएको छ । कोरोना पुष्टि भएका अधिकांश भारतबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा भारतबाट आउने क्रम अझै चलिरहेको छ । नाकाबाट भित्रिनेलाई सम्बन्धित स्थानीय तहबाट सवारी साधन ल्याएर लैजाने गरिएको छ । क्वारेन्टाइनको संख्या र त्यसमा बस्नेको संख्या दिनदिनै बढिरहेको छ । यद्यपी भारतबाट आउनेको संख्या धेरै भएपछि स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या भइरहेको छ ।
परिक्षण रिपोर्ट नआउँदै घर पठाएपछि गाउँमा त्रास
कोरोना परिक्षण रिपोर्ट नआउँदै राप्तीसोनारी गाउँपालिका–८ स्थित क्वारेन्टाइनमा बसेका २७ जनालाई बिहीबार घर पठाइयो । त्यसको तीनरचार घण्टापछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिर्पोटमा त्यही क्वारेन्टाइनमा बसेका चारजना र व्यवस्थापनमा खटिएका वडाध्यक्ष गरी सात जनामा कोरोना पोजेटिभ देखियो । राप्तीसोनारी–८ शिवशक्ति मावि पेरानी क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुदालीले गलत सूचनाका कारण संक्रमितहरु घर गएको बताए ।
‘नेगेटिभ रिर्पोट आयो भन्ने हल्ला सुनेर वडाध्यक्षले सबैलाई घर पठाइदिनुभो । पछि उहाँसहित ५ जनामा कोरोनो पोजेटिभ आयो,’ उनले भने, ‘अहिले सबैलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । अरुलाई क्वारेन्टाइनमा राखिसक्यौं ।’ घर पठाइएपछि उनीहरु परिवारको सम्पर्कमा पुगेका थिए । यसले गाउँमा थप त्रासको वातावरण सिर्जना गरेको छ । पोजटिभ रिर्पोट आएपछि उनीहरुको खोजी गरी आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राप्तीसोनारीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।
सत्यपाटी ।