सूचनाको शक्ति - The Power Of Information

        

सेना प्रमुखको टिप्पणीले भारतीय सेनाका ४० बटालियन नेपालीको अपमान

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालको विषयमा गरेको असंवेदनशील टिप्पणीले भारतीय सेनामा भएका ४० बटालियन नेपालीको अपमान गरेको बताइएको छ । भारतीय राष्ट्रिय कांग्रेसका नेतासमेत रहेका कार्गिल युद्ध लडेका कर्नेल मनभेन्द्र सिंहले दी प्रिन्टमा प्रकाशित लेखमार्फत यस्तो बताएका हुन् ।

उनी डिफेन्स एन्ड सेक्युरिटी अलर्टका प्रधान–सम्पादकसमेत हुन् । उनले लेखमा भनेका छन्, ‘जनरल नरवणेको टिप्पणीले नेपालप्रतिको विश्वासलाई अवमूल्यन गरेको छन् । नेपालले भारतलाई धेरै कुराहरु दिएका छन् । विशेगरी नेपालले भारतका लागि सेना दिएको छ, उनीहरुले भारतमा सेवासँगे ठुलो त्यागसमेत गरेका छन् । त्यसैगरी भारत–नेपालबीच गहिरो पारिवारिक सम्बन्ध छ ।’

जसरी मधेस आन्दोलनका बेला भारतले हस्तक्षेप गर्दा नेपालले आपत्ति जनाएको थियो, त्यसरी नै फेरि एकपटक भारतप्रतिको नेपाली मनोवृत्तिका विषयमा छलफल चलेकोसमेत उनले लेखमार्फत उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘त्यसबाहेक पहिलो पटक सेना प्रमुखका कारण भारतप्रति नेपालीको दृष्टिकोण र विश्वास गुमेको छ । नरेन्द्र मोदी सरकारभित्रबाट कसैले सेनाप्रमुख जनरल नरवणेलाई यस्तो अव्यवसायिक टिप्पणीलाई उक्साएको छैन भनेर भारत र नेपालका कुनै पनि सेनाले विश्वास गर्दैनन् ।’

मनभेन्द्रले भारतीय सेनामा राजनीतिक हस्तक्षेप बढ्न थालेपछि तत्कालीन सेना प्रमुख सामबहादुरको प्रसंग उल्लेख गरेका छन् । सन् १९७१ मा सेना प्रमुख भएका सामबहादुरले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई भनेका थिए, ‘तपाईं आफ्नो कर्तव्य निर्वाह गर्नुस्, मैले मेरो कर्तव्य निर्वाह गर्छु । म राजनीतिमा कुनै हस्तक्षेप गर्दैन । त्यसैगरी सेनामा कसैको हस्तक्षेप सह्य हुँदैन ।’

‘नेपालीहरुले भारतको राष्ट्रिय सुरक्षा गर्ने शपथ लिएका हुन्छन् । दशकौंदेखि नेपालीहरु यही शपथलाई पालना गर्दै आएका छन् । तर, भारतीय सेना प्रमुखले उनीहरुको अपमान गरेका छन्,’ उनले लेखेका छन् । भारतले ८ मेमा नेपाली भूमि लिपुलेक हुँदै सडक उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो । नेपालमा चर्को विरोध भएपछि १५ मेमा भारतीय सेना प्रमुखले भारतले बनाइरहेको सडकले कसैमाथि हस्तक्षेप वा अन्तरविरोध नभएको दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ । त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन ।’ उनले चीनलाई संकेत गरेका थिए । ‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ नरवणेले भनेका थिए । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १४:०७