सूचनाको शक्ति - The Power Of Information

        

‘क्रिसमस डे’मा राष्ट्रपतिले भनिन्, राजनीतिक स्थायित्व होस्


काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।
ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सव आयोजना गरेको छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् ।
क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
विक्रम संवत् ०६२÷६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ । नेपाल धर्म्निरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ ।
यसैबीच, क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ । इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।
भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेकी छन् । विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै राष्ट्रपतिले नेपालीबीच मनाइने चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आआफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुने उनको विश्वास छ ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०३:०६