सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित मुलुकको सूचीमा इरानलाई उछिन्दै भारत

काठमाडौं । विश्वभर कोरोना संक्रमित मुलुकहरुको सूचीमा इरानलाई पछि पार्दै भारत १० औं स्थानमा उक्लिएको छ । धेरै मुलुकहरुमा कोरोना संक्रमितको संख्या स्थिर हुनेक्रममा पुग्दा भारतमा भने नयाँ रेकर्ड कायम हुँदै संख्या थपिइरहेको छ । इरानमा आज बिहान सवा ६ बजेसम्मको तथ्याङ्कअनुसार १ लाख ३५ हजार ७०१ जना संक्रमित छन् ।

दशौं स्थानमा रहेको इरानलाई एघारौं स्थानमा झारेको भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ रहेको छ । नवौं स्थानमा रहेको टर्कीभन्दा भारतमा १८ हजार ३०० कम संक्रमित छन् । अहिलेकै रफ्तारमा भारतमा संक्रमित बढ्ने हो भने टर्कीलाई उछिन्न भारतलाई समय लाग्ने छैन । विश्वभर अहिलेसम्म ५४ लाख ५ हजार २९ जना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको तथ्याङ्कअनुसार संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा १६ लाख ४२ हजार २१ जना संक्रमित छन् । दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ६३ हजार २११ जना संक्रमित छन् । कोरोनाका कारण अमेरिकामा अहिलेसम्म ९७ हजार ६९८ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा यो संख्या २२ हजार ६६६ रहेको छ ।

तेस्रो स्थानमा रहेको रसियामा ३ लाख ४४ हजार ४८१ संक्रमित छन् । पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र ब्राजिलको तुलनामा रसियाले कोरोनाको विश्वव्यापी कहरमा आफूलाई अब्बल राष्ट्र बनाउन सफल भएको छ । पहिलो र दोस्रो तथा चौथो, पाँचौं, छैटौं सूचीमा रहेका मुलुहरुमा कोरोनाका कारण जुन रफ्तारमा मानिसहरु मरेका छन्, रसियामा ठीक उल्टो छ ।

रसियामा ३ लाख ४४ हजार जना संक्रमित हुँदा पनि यहाँ अहिलेसम्म ३ हजार ५४१ जनाको मृत्यु भएको छ जुन अरु मुलुकको तुलनामा ज्यादै कम हो । बेलायतमा संक्रमितको संख्या २ लाख ६० हजार ९१६ पुगेको छ । बेलायतमा कोरोनाका कारण ३६ हजार ८७५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा २ लाख ३५ हजार ७७२ जना संक्रमित देखिएका छन् भने मृत्यु हुनेको संख्या २८ हजार ७५२ पुगेको छ । इटालीमा संक्रमितको संख्या २ लाख २९ हजार ८५८ पुग्दा मृत्यु हुनेको संख्या ३२ हजार ७८५ रहेको छ । फ्रान्समा १ लाख ८२ हजार ७०९ जना संक्रमित हुँदा २८ हजार ३७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार ०८:०७