बाँके । भारतमा कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला त्यहाँ रहेका नेपाली मजदुर काम छाडेर घर फर्किन थालेका छन् । भारतबाट फर्किने मजदुरहरुको अहिले जमुनाह नाकामा निकै भीड बढेको छ । भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई समेत हम्मेहम्मे पर्ने गरेको छ । भीड व्यवस्थापनका लागि सशस्त्र प्रहरीसमेत खटिएको छ ।
बन्दाबन्दी चलिरहेकै बेला भारतमा रेलसेवा सुरु भएपछि नेपालीहरु घर फर्किन थालेका हुन् । स्थानीय प्रशासनले जमुनाहा नाकाबाट चार दिनको अवधिमा १० हजार २१५ जना नागरिकलाई नेपाल भित्र्याएर गन्तव्यतर्फ पठाएको छ । जसअनुसार जेठ ३, ९, १० र ११ गते क्रमशः दुई हजार ७८०, दुई हजार ८००, एक हजार ४६५, तीन हजार १७० जना भित्रिएका छन् ।
अझै नेपालीहरु भित्रिने क्रम भने नरोकिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायव निरीक्षक माधव रिजालले बताए । उनका अनुसार आज सोमबार मात्रै ५३ वटा गाडीमा विभिन्न ठाउँका नेपाली नागरिकहरुलाई गन्तव्यतर्फ पठाइएको छ भने भारतबाट नेपालीहरु आउने क्रम अझै रोकिएको छैन ।
जमुनाहा नाकाबाट भित्रिने अधिंकाश नेपालीहरु कर्णाली प्रदेशका रहेका छन् भने बाँके, दाङ्ग, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका नेपालीहरु पनि जमुनाहा नाका हुँदै घर फर्किरहेका छन् । अन्य समयमा भन्दा अहिले भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको प्रहरी नायव निरीक्षक रिजालले बताए ।
भारतबाट फर्किएका दाङ्गका प्रदीप महताराले भने, ‘भारतमा कोरोना संक्रमण फैलिएपछि साहुले कम्पनी बन्द गर्यो । रोगले भन्दा भोकले मर्ने स्थिति आएपछि आफ्नै गाउँ फर्किआएँ । अर्काको भूमिमा मर्नुभन्दा आफ्नै देशमा मर्नुपर्छ भनेर भारतमा बस्नै बन लागेन । यहाँ आइपुगेपछि आफ्नै घरको आँगनमा आएजस्तो भएको छ ।’
भारत पनि कोराना भाइरसको संक्रमण उच्च दरमा बढेपछि सुरक्षित बन्न स्वदेश फर्किने क्रम बढेको छ । ‘नेपालमा कोरोनाको प्रभाव छैन भन्ने जानकारी पाएपछि सबै काम छोडेर घर फर्कियौं,’ जमुनाह नाकामा आइपुगेका दैलेखका रामबहादुर सुनारले भने, ‘ज्यान जोगिए पैसा पछि पनि कमाइन्छ, पहिले त ज्यान जोगाउनुपर्यो नि ?’
भारतको गुजरातमा काम गर्दै आइरहेका कालिकोटका परबीर रोकायले आफूहरुले काम गर्ने कम्पनी बन्द भएपछि बेरोजगार बनेर भोकभोकै हुनुपर्ने अवस्था आएकोले घर फर्किएको बताए । खानबस्न समेत कठिनाई भइरहेका बेला भारत सरकारले बन्दाबन्दीमा केही खुकुलो गरेका कारण आफूहरु घर फर्किन पाएकोमा उनले खुशी व्यक्त गरे ।
‘भारतमा होटल तथा उद्योगहरु तत्काल खुल्न सक्ने सम्भावना नहुँदा समस्या परेको थियो । ढिलै भए पनि आफ्नै गाउँ फर्किएर आउन पाउँदा खुशी लागेको छ,’ रोकायले भने, ‘अब स्थानीय सरकारले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै घरका परिवारहरुसँग भेटघाट गर्छु ।’
रोजगारीका लागि भारत गएका धेरै नेपालीले ज्यान जोगाउन नेपाल जानुपर्छ भन्ने सोच बनाएरै नेपाल फर्किरहेको रोकायको भनाई छ । उनले भने, ‘भारतमा रहेका नेपालीहरु सीमा नाका बन्दको हल्लाले निकै आतंकित र तनावमा छन् । अहिले कसैलाई काम र पैसाको मोह छैन, दुई चार दिनमा भारतमा रहेका सबै नेपाली घर फर्किन्छन् ।’
बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतबाट आएका नागरिकहरुलाई सम्बन्धीत प्रदेश सरकारसँग समन्वय गरेर गन्तव्यमा पुर्याउने काम भइरहेको बताए । उनले भने, ‘हामीले भारतबाट आएका नागरिकहरुलाई सम्बन्धीत प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशको सीमा नाकासम्म छाड्ने गरेका छौं ।’
अहिले कर्णाली प्रदेश सरकारले पनि बाँके प्रशासनसँगको समन्वयमा बसहरु पठाएर आफ्ना नागरिकहरुलाई प्रदेश सीमा नाकामा आरडीटी परीक्षण गर्ने व्यवस्थासमेत गरेको छ । आरडीटी परीक्षणपछि नेगेटिभ रिपोर्ट आएकालाई सम्बन्धीत स्थानीय निकायको जिम्मा लगाउँछ भने पोजेटिभ आएमा आइसोलेसनमा पठाउँछ ।
‘प्रदेश सरकारले आरडीटी परीक्षण गरेपछि मात्रै हामीले जिम्मा लिएर क्वारेन्टाइनमा राख्ने गरेका छौं,’ सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने । कर्णाली प्रदेश सरकारले प्रदेश ५ सँग जोडिएको सीमा नाकामा बबईमा हेल्थ डेस्क राखेर आरडीटी परीक्षण गर्ने व्यवस्था गरेको छ । भारतबाट फर्किनेमा कर्णाली प्रदेशका नागरिक धेरै छन् ।
सत्यपाटी ।