सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको धम्की, ‘भारतीय दूतावासमा सूचना पुर्‍याउने मन्त्रीको फोन ट्यापिङ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई गोपनीयता उल्लंघन गरे कानून लाग्ने भन्दै तर्साएका छन् । मन्त्रिपरिषद्को जेठ ९ गते शुक्रबारको बैठकमा सरकारको गोपनीयता कायम गर्न नसकेको भन्दै उनी आक्रोशित थिए ।

सरकारका निर्णय कहाँकहाँ पुग्छन् भन्नेबारे केही नबताए पनि उनको संकेत बैठक सकिनासाथ भारतीय दूतावासमा पुग्नेतर्फ लक्षित गरेका थिए । तर, कुन मन्त्रीले कसरी भारतीय दूतावासमा सूचना पुर्याउँछन् भन्नेबारे भने बैठकमा उनले केही बताएनन् । बरु मन्त्रीहरुलाई थप सचेत गराउने क्रममा उनले पत्रकारहरुसँग पनि कुरा नगर्न भनेका थिए ।

राष्ट्रिय सभाबाट हालै पारित भएको गुप्तचर सम्बन्धी एउटा विवादास्पद कानून उल्लेख गर्दै प्रधानमन्त्रीले मन्त्रीहरुको फोन ट्यापिङ गर्न सकिने धम्की पनि दिए । सम्झाउने शैलीमा दिएको धम्की सम्झँदै एकजना मन्त्रीले भने, ‘अब फोन ट्याप गर्न सकिन्छ भन्ने पनि बुझ्नुहोस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

सरकारको गोपनीयता भंग कसले गरेको छ त्यो पत्ता लगाउने विधि पनि मन्त्रीहरुलाई भनेका थिए । उनले पत्रकारहरुसँग धेरै कुरा गर्ने मन्त्रीहरुको फोन ट्याप गरेर रेकर्ड गर्ने पनि बताए । उनले मन्त्रिपरिषद्मा मन्त्रीहरुलाई सचेत गराउँदै भने, ‘फोन ट्यापिङ गर्दा जो मन्त्रीको पत्रकारसँग धेरै कुरा भएको हुन्छ उसैले समाचार दिएको ठहर गरिन्छ ।’

उनले पटकपटक आग्रह गर्दै मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा छलफल भएका विषय बाहिर नलैजान निर्देशन दिएका थिए । स्वास्थ अलि खराब भएका कारण बैठकभर नै मलिन देखिएका प्रधानमन्त्रीले बैठकमा खुलेर कुरा गर्नै नहुने अवस्था आएको बताएका थिए । प्रधानमन्त्रीले भनेका थिए, ‘खुलेर कुरा गर्न हुन्न, बाहिर पुगिसकेको हुन्छ । अब यस्तो नहोस् ।’

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १३:१३