सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा २२५ जना कोरोना संक्रमित

बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार कोरोना संक्रमित देशभर हालसम्म ५०७ पुगेको छ । कुल संक्रमितमध्ये करिब ४५ प्रतिशत बढी संक्रमण प्रदेश ५ मा मात्र छन् । प्रदेश ५ मा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार हालसम्म २२५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

वैशाख १९ गते पहिलोपटक रुपन्देहीका २५ वर्षे युवक र बाँकेका ६० वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिनपछि वैशाख २१ गते बाँकेमा एकै पटक १५ जनामा संक्रमण पुष्टि भयो । भारतको भ्रमण गरी आएका बाँकेका पहिलो संक्रमितको ट्रेसिङबाट ती संक्रमित पुष्टि भएका हुन् ।

यसको दुई दिनपछि पुनः ७ जनामा संक्रमण पुष्टि भयो । पहिलो संक्रमण पुष्टि भएपछिको तीन सातामा यहाँ २११ पुग्दा सबैभन्दा बढी जेठ ५ गते एकैपटक ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै वैशाख २९ र ३१ गते २३–२३ जनामा संक्रमण पुष्टि भयो । जेठ ७ गते पनि यहाँ २० जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै वैशाख ३० गते १७ र जेठ २ गते ११ जना गरी दोहोरो अंकमा संक्रमण पुष्टि भएको थियो । आज बिहानमात्र कपिलबस्तुमा ९ र नवलपरासी बर्दघाट सूस्ता पश्चिममा तीन जनामा संक्रमण पुष्टि भएको थियो । भने पछिल्लो अपडेटअनुसार बाँकेमा थप १४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमित हुनेको संख्या २२५ पुगेको हो ।

पहिलो संक्रमण पुष्टि भएको दुई सातामा प्रदेश ५ मा संक्रमितको संख्या १०० नाघेको थियो । संक्रमण पुष्टि भएको १० दिनमा ५० नाघेको संक्रमितको संख्या त्यसको चार दिनमा जेठ २ गते बढेर १०५ पुगेको थियो । त्यसपछिको एक सातामा संक्रमितको संख्या पुनः १०० भन्दा बढीले बढ्दै २२५ पुगेको हो ।

भारतसँग सीमा जोडिएको प्रदेश ५ का १२ जिल्लामध्ये सात जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएका जिल्ला हुन्। गुल्मीमात्र पहाडी जिल्ला हो । गुल्मीका एक जनामा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भयो ।

उनको ८ गते उपचारकै क्रममा मृत्यु भएको हो । यो प्रदेशको दोस्रो तथा देशकै कोरोना भाइरसका कारण भएको तेस्रो मृत्यु हो । यसअघि जेठ ४ गते बाँके जिल्लाका एक युवाको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो । यहाँ देखिएका अधिकांश संक्रमितहरुको कनेक्सन भारतसँग जोडिएको देखिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १७:५९