बझाङ । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेपछि बझाङ्गमा औषधि अभाव भएको छ । औषधि अभाव हुँदा सबैभन्दा बढी दिर्घरोगी मारमा परेका छन् ।
खप्तड छान्ना गाउँपालिकाका क्यान्सर पीडित ५२ बर्षिया विक्रम थापा भन्छन्, ‘औषधी खान लागेको साढे तीन बर्ष भयो । बेलाबेला चेकजाँच गरि औषधी खाने गरेको छु । अहिले उपचार गराउन पैसा पनि सकियो, बन्दका कारण औषधीसमेत ल्याउन जान पाएको छैन । काठमाडौंबाट ल्याएको औषधी सकियो ।’
बन्दाबन्दीका कारण काठमाडौं जान नपाएपछि समस्या भएको उनले बताए । ‘प्रत्येक ६ महिनामा काठमाडौं गएर चेकजाँच गर्नुपर्छ । चेकजाँच नगरेर औषधी खान मिल्दैन । एक पटकमात्रै उपचार गराउन जाँदा एक लाख रुपैँया खर्च हुन्छ ।’ त्यसमा पनि बझाङबाट काठमाडौं जान त झन् समस्या छ ।
‘सबै सकियो रातभर दुखाई हुन्छ, स्वरसमेत बन्द भइसक्यो,’ विक्रमकी श्रीमती बाटुदेवीले भनिन्, ‘भएभरको जग्गाजमिन बेचेर उपचारमै खर्च भयो । घरकै कमाउने मान्छे रोगी भएपछि आम्दानी कतैबाट छैन । अहिले खान लाउन पनि समस्या भएको छ । कहिँकतैबाट सहयोग आउँदैन, उपचारका लागि समस्या त छँदैछ, भोकले पनि मरिएला जस्तो छ ।’
खप्तडछान्ना गाउँपालिकाले सुरुको बर्षमा उपचार खर्च भनेर दुई लाख र सरकारले दिर्घ रोगीको लागि भनेर एक लाख बराबरको औषधी दिएको थियो । उनीजस्तै केदारस्यु गाउँपालिका–८ का ५५ बर्षिया लालबहादुर बोहोरा पनि लामो समयदेखि मुटुको समस्याबाट पीडित छन् । उनले मुटुसम्बन्धी रोगको औषधि सेवन गर्दै आएका छन् ।
बन्दाबन्दीका कारण औषधी सकिएपछि उनी पनि निकै चिन्तामा छन् । उनले भने, ‘अब दुई दिनका लागिमात्रै औषधि छ । सकियो भने कसरी बाँच्नु ?’ उनले जिल्लामा दिर्घ रोगीहरुका लागि औषधी मगाउन पहल गरिदिन सञ्चाकर्मीहरुसँग आग्रहसमेत गरे । केहि दिनअघि औषधी अभावकै कारण साइपाल गाउँपालिकाकी एक महिलाको ज्यानसमेत गइसकेको छ ।
बझाङमा यस्ता औषधी सेवन गर्नेहरु धेरै भए पनि एकीक तथ्याङक भने छैन । त्यतिमात्रै नभएर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा औषधिको समेत अभाव हुँदै गएको छ भने अर्कोतिर कतिपय मानिसहरु स्वास्थ्य संस्थामा जान नपाउँदा विभिन्न समस्या झेल्दै आएको सुर्मा गाउँपालिकाका दिपक बोहोराले बताए । उनले स्थानीय तहहरुले राहत वितरणमा मात्र बढि महत्व दिएको र यस बिषयमा कसैले चासो नदिएको गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दिर्घरोगीका लागि औषधीको व्यवस्था गर्न आफुले समन्वय गर्ने बताए । उनले कतिपयले काठमाडौंबाट मात्र नभइ भारतबाट समेत फरक फरक औषधि मगाएर खाने भएकोले समस्या भएको उनले बताए । जिल्लाका सबै स्थानीय तहलाई दिर्घरोगी तथा निरन्तर औषधी सेवन गर्ने बिरामीहरुको तथ्याङ्क संकलन गर्न पत्राचार गरे पनि हालसम्म कसैले पनि तथ्याङ्क नपठाएको प्रजिअ पाण्डेले बताए ।
सत्यराज सिंह ।