सूचनाको शक्ति - The Power Of Information

        

जमिनमा प्रवेश गर्दै शक्तिशाली अम्पुन चक्रवात, वर्षा र हिमपातको सम्भावना

मंगलबार बिहान ९ः१५ बजे भूउपग्रहबाट लिइएको बदलको तस्बिर, जहाँ घुमेको सुन्तला रङ बंगालको खाडीमा विकसति चक्रवात हो भने त्यसको बाहिरी घेराबाट उछिट्टिएका नीलो रङमा बादल माथि नेपालको पूर्वी भूभागमा परिरहेको देखाइएको छ । तस्वीर : मौसम पूर्वानुमान महाशाखाको वेबसाइटबाट ।

मंगलबार बिहान ९ः१५ बजे भूउपग्रहबाट लिइएको बदलको तस्बिर, जहाँ घुमेको सुन्तला रङ बंगालको खाडीमा विकसति चक्रवात हो भने त्यसको बाहिरी घेराबाट उछिट्टिएका नीलो रङमा बादल माथि नेपालको पूर्वी भूभागमा परिरहेको देखाइएको छ । तस्वीर : मौसम पूर्वानुमान महाशाखाको वेबसाइटबाट ।

काठमाडौं । बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात)को ‘अप्रत्यक्ष’ प्रभावका कारण आजदेखि तीन दिनसम्म नेपालमा प्रभाव पर्नेछ । आज (बुधबार)देखि तीनदिन अर्थात् (शुक्रबार)सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखााका मौसमविद् वरुण पौडेलका अनुसार यसले विशेषगरी पूर्वी क्षेत्रमा बढी प्रभाव पारिरहेको छ ।

साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेको छ । ‘विशेषगरी पूर्वी क्षेत्रमा आज गड्याङगुडुङ, चट्याङ र हुरीबतासहित मध्यमसम्म वर्षा हुने सम्भवना छ,’ मौसमविद् पौडेलले भने, ‘काठमाडौंलगायत मध्य क्षेत्रमा पनि मौसम बदली तथा वर्षा हुने देखिएको छ ।’ पूर्वी क्षेत्रमा दिनभर नै मौसम अँध्यारै रहन्छ भने काठमाडौंलगायत मध्य क्षेत्रका स्थानमा भने बीचबीचमा घाम पनि देखिने उनको अनुमान छ । मौसमविद् पौडेलका अनुसार नेपालमा अम्पुनको मुख्य प्रणाली नै प्रवेश गरेको होइन ।

मुख्य प्रणाली प्रवेश गर्थ्यो भने धेरै ठूलो क्षति हुन सक्थ्यो । ‘यसको अप्रत्यक्ष प्रभाव अर्थात् चक्रवातको बाहिरी घेरोका बादल मात्र नेपालमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसैको प्रभावले अब तीन दिनसम्म देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना देखिएको हो ।’ मौसमविद् पौडेलका अनुसार बंगालको खाडीमा रहेको चक्रवात आज दिउँसोतिर पश्चिम बंगालको तटीय क्षेत्र (पश्चिम बंगाल–बंगलादेश कोस्ट)मा प्रवेश (ल्यान्डफल) गर्दैछ ।

‘त्यसपछि यसले कुन दिशा र कस्तो रूप लिन्छ, त्यसले नेपाल पर्ने थप प्रभाव निर्धारण गर्छ, त्यो हामी अपडेट गर्नेछौं,’ मौसमविद् पौडेलले भने । उनका अनुसार अहिले अम्पुन चक्रवात उत्तर–उत्तर पूर्व सरिरहेको छ । यसको प्रभाव नेपालको पूर्वी भागमा बढी पर्नेछ । ‘मध्य भागसम्म पनि पर्छ तर सुदूरपश्चिम कर्णालीतिर यसको प्रभाव पर्दैन,’ उनले भने, ‘विशेषगरी प्रदेश १ र २ मा यसको बढी प्रभाव पर्ने देखिन्छ ।’ वर्षाका कारण पूर्वी क्षेत्रका खोलानालामा बाढीसमेत आउने सम्भावना रहेको उनले बताए । नवलपरासीदेखि पूर्व अम्पुन चक्रवातको प्रभाव पर्ने उनको अनुमान गरिएको मौसमविद् पौडेलले जानकारी दिए ।

बुधबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ ः ‘हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थान, मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ। जसका कारण खोलानालामा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १२:४२