सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरका कोरोना संक्रमित १७ घण्टासम्म क्वारेन्टाइनमै !

बाँके । बाँकेमा सोमबार सोमबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभावमा उनीहरु १७ घण्टासम्म अन्य व्यक्तिसँगै क्वारेन्टाइनमै बस्न बाध्य भए ।

कोरोना भाइरस संक्रमण पुष्टि भइसक्दासमेत संक्रमितले आफूलाई संक्रमण भएको पत्तो पनि पाएनन् । अझ संक्रमित नभएकालाई को व्यक्ति संक्रमित छ भन्नेसम्म थाहा भएन । को–को व्यक्तिमा संक्रमण भयो भन्ने जानकारी नहुँदा १७ घण्टासम्म संक्रमित र अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रास बढेको छ ।

१७ घण्टासम्म क्वारेन्टाइनभित्र अन्य व्यक्तिसँगै कोरोना संक्रमित बसेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । ‘संक्रमण पुष्टि भएपछि तत्काल आइसोलेसनमा व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनको लाहपर्वाहीका कारण जोखिम बढ्यो,’ नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनले चासो नदेखाउँदा त्राससँगै जोखिम बढेको उनले बताए । उनले भने, ‘विहान नौं बजेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनभित्रै अलग गरेर राखिएको छ, अहिलेसम्म कहाँ व्यवस्थापन गर्ने भन्ने ठेगान छैन ।’

विहानमात्रै जिल्लाबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुलाई क्वारेन्टाइनभित्रै अलग गरेको छ । उनले सुरक्षाकर्मीकै भरमा सबै व्यवस्थापन छोडेर स्थानीय प्रशासनले ठूलो कमजोरी गरेको बताए । ‘गाउँपालिका शिल गरेको भन्छ, मान्छेहरुको आवतजावत पहिलेको भन्दा कम छैन । यसले थप जोखिम बढाएको छ ।’

संक्रमितहरुको अवस्थाका बारेमा जानकारी लिन खोज्दा जिल्ला स्वास्थ्य कार्यालयले कोरोना फोकल पर्सन भनेर तोकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको फोन पनि उठ्न छाडेको छ । कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठ्दैन । यसले पनि जिम्मेवार निकाय कति गैरजिम्मेवार बनेको छ भन्ने पुष्टि हुन्छ ।

त्यसो त नरैनापुरमा बनाइएका क्वारेन्टाइन अव्यवस्थित र भद्रगोल छन् । ती क्वारेन्टाइन संक्रमण फैलिन नदिनका लागि बनाइएको भन्दा संक्रमण फैलाउनका लागि बनाइएका सेल्टरजस्तै बनेका छन् । नरैनापुरका विभिन्न १३ वटा क्वारेन्टाइनमा ७१८ जनालाई राखिएको छ । ती सबे भारतबाट फर्किएका हुन् ।

मृत्यु भएका एक जनासहित ६८ जनामा कोरोना पुष्टि भएपछि नरैनापुर कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन् । भारतबाट धेरै नेपालीहरु धमाधम घर फर्किएपछि कोरोना संक्रमणको ‘हटस्पट’ बनेको नरैनापुरमा मान्छे आउने क्रम अझै रोकिएको छैन ।

गाउँपालिकाका सूचना अधिकारी मिश्राले एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि गाउँपालिकाको अवस्था नै भयावह बनेको बताए । उनले भने, ‘संक्रमणपछिको निर्णयका लागि स्थानीय प्रशासनको निर्णय कुर्नुपर्छ । त्यसैले पनि संक्रमितहरुको व्यवस्थापनमा ढिलाई हुँदा थप संक्रमणको जोखिम छ ।’

स्थानीय प्रशासनकै निर्णयमा निर्भर हुनुपर्ने भएकाले संक्रमितहरुको व्यवस्थापनका लागि गाउँपालिकाले योजना बनाउन नसकेको उनले स्वीकार गरे । उनले भने, ‘आफ्नै ज्यान जोगाउनुपर्ने अवस्था आयो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सबै जोखिममा छौं । स्थानीय प्रशासनले तत्काल निर्णय नलिँदा संक्रमणको जोखिम थप बढेको छ ।’

स्थानीय प्रशासनको चरम लापरबाही र स्थानीय निकायसँगको समन्वय अभावका कारण कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोमबार अबेर राती ८ बजेसम्म जिल्ला सुरक्षा समितिको बैठक बसे पनि ठोस निष्कर्ष निकाल्न नसक्दा उनीहरु अहिलेसम्म क्वारेन्टाइनमै बस्न बाध्य छन् ।

यसले पनि थप संक्रमण बढ्न सक्ने जोखिम देखिएको छ । बाँकेमा आइसोलेसन बेड नभएपछि कोरोना पोजेटिभ भेटिएका संक्रमितहरु अलपत्र भए । प्रदेश सरकारले नेपालगन्जस्थित नेपाल प्रहरी र नेपाली सेनाको अस्पताललाई कोरोना अस्पताल घोषणा गरे पनि ती अस्पतालहरुमा समेत कोरोनाका विरामीलाई राख्न नदिएको बुझिएको छ ।

सूचना अधिकारी मिश्राका अनुसार अझै ७१८ जना क्वारेन्टाइनमा छन् भने भारतबाट मजदुरी गरेर फर्किएका ४५ जना नेपाल–भारत सीमा नाकामा अलपत्र परेका छन् । उनले बनियागाउँमा १६ जना, बहाउपूर्वामा १५ जना घोरदौरीमा ८ जना र ककरदरी नाकामा ६ जना नरैनापुरका नागरिकहरु अलपत्र परेको जानकारी दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ११:२१