फाइल तस्वीर
बाँके । नरैनापुर गाउँपालिका कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको छ । चारदिनमा ५६ जना संक्रमित भेटिएसँगै उक्त गाउँपालिका कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको हो । संक्रमित ५६ जनामध्ये एक जना २५ बर्षिय पुरुषको मृत्यु भएको छ । मृतक ती पुरुषमा भने मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि गत शुक्रबारमात्रै एकैदिन आठ जनामा संक्रमण पुष्टि भएको थियो । हाल उनीहरुको दाङ्गको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शनिबार राती एक्कासी बिरामी परेका २५ बर्षिय युवकको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भयो । आज पुष्टि भएकामध्ये ४६ पुरुष र एक महिला छिन् ।
बाँकेको नरैनापुर गाउँपालिकालाई इपिसेन्टर बनाउँदै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अहिले नरैनापुर क्षेत्रमा त्रास फैलिएको छ । यसअघि नेपालगन्जको वडा नं. ८ का २४ जना गरी २५ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको खजुरास्थित कोरोना विशेष आइसोलेसनमा उपचार भइरहेको छ ।
त्यसपछि भने नेपालगन्जमा कोरोना संक्रमण देखिएको छैन । नरैनापुरमा हालसम्म संक्रमण देखिएका ५६ जना सबै भारतबाट आएका नागरिक रहेको गाउँपालिकाले जनाएको छ । तर, गाउँपालिकाले भने गत शुक्रबार संक्रमण देखिएका आठ जनाले क्वारेन्टाइनमा रहेका अन्यमा संक्रमण फैलाएको अनुमान गरेको छ ।
यसअघि ती आठ जनामध्ये भोजभगवानपुरस्थित दिपेन्द्र माविमा तीन जना र जयकिसान माविमा दुई जना, नेरा प्रावि शंकरनगरमा एक जना, आदर्श मावि लक्ष्मणपुरमा एक जना र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो । आज संक्रमण पुष्टि भएका सबै उनीहरुसँगै क्वारेन्टाइनमा राखिएकाहरु रहेको पालिकाले जनाएको छ ।
गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार क्वारेन्टाइनमा रहेका सबै वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म भारतबाट आएका हुन् । अहिले नरैनापुरमा रहेका १३ वटा क्वारेन्टाइनमा ७१८ जनालाई राखिएको छ । मृत्यु भएका एक जनासहित ५६ जनामा कोरोना पुष्टि भएपछि इपिसेन्टर बनेको नरैनापुरका स्थानीयहरु त्रसित छन् ।
पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन् । भारतको महाराष्ट्रमा पुगेका धेरै नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुर कोरोनाको ‘इपिसेन्टर’ बनेको छ । यहाँ अझै मान्छे आउने क्रम रोकिएको छैन । राज्यको ठूलो शक्ति नेपालगन्जको मुख्य नाकामा केन्द्रित रहँदा धेरैले नरैनापुरका नाका प्रयोग गरिरहेका छन् ।
नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज छ । बाँके प्रहरीले रातीमा गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति त बनाएको छ । तर, ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिसहरु प्रवेश गरिरहेका छन् । धेरै गाउँहरु पारि भारत र वारि नेपालाका गाउँ छन् ।
बीचको आँगनले देश छुट्याएको छ । त्यसमा भारतीय प्रहरीले सहजै आउन दिएपछि नेपालीलाई घर फर्किन सजिलो भएको छ । गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, पहिला क्वारेन्टाइनमा बसुन् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टाइनमा राखेको छ ।
जिल्लाको पूर्वी दक्षिण यो पालिकाबाट ठूलो संख्याका मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन् । प्रायः कारोबार भारतीय बजारमा नै हुन्छ । कोरोनाको शुरुवाती चरणमा नेपालगन्जको वडा नं. ८ ‘इपिसेन्टर’ बने पनि अहिले नरैनापुर गाउँपालिका ‘इपिसेन्टर’ बनेको छ । भारतबाट आउनेले नै कोरोना बोकेर आएका छन् ।
स्थानीयहरुलाई जथाभावी आवतजावत गर्न नदिन नरैनापुर प्रवेश गर्ने चार वटै नाका बन्द गरिएको छ भने ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करिब ४०० को संख्यामा सुरक्षाकर्मी परिचालित भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
उनका अनुसार थप सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । उनले भने, ‘अझै पनि संक्रमितको संख्या बढ्न सक्ने देखिएको छ । त्यसो हुँदा थप जनशक्ति आवश्यक पर्न सक्ने आँकलन गरेर तयारी अवस्थामा राखेका छौं ।’ जिल्लाभर रहेका क्वारेन्टाइनमा झण्डै ३५० को संख्यामा प्रहरी खटाइएको उनले जानकारी दिए ।
यसअघि नरैनापुरका आठ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखिएको छ । आज संक्रमण देखिएका संक्रमितलाई नरैनापुरस्थित लक्ष्मणपुर स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड निर्माण गरी राख्ने तयारी भइरहेको थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।
प्रजिअ खड्काले भने, ‘अहिलेसम्मको तयारीभन्दा धेरै संख्यामा संक्रमण देखिएकाले अन्यत्र पठाउन सम्भव छैन । उनीहरुलाई लक्ष्मणपुरस्थित स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड निर्माण गरी राख्ने निर्णय भइसकेको छ । हामी त्यही अनुसार तयारीमा जुटेका छौं ।’ उनले आइसोलेसन तयार गर्नका लागि पनि टोली परिचालन भइरहेको बताए ।
अझै संक्रमित थपिनसक्ने भएकाले सोही अनुसार आइसोलेसन वार्ड तयारीका लागि समेत छलफल भइरहेको प्रजिअ खड्काले बताए । ‘परिक्षण अझै बाँकी आजको अवस्थालाई हेर्दा संक्रमित बढ्न सक्ने आँकलन हामीले गरेका छौं । त्यसका लागि पनि हामीले सम्भावित रणनीति तयार गरेर अघि बढ्छौं,’ प्रजिअ खड्काले भने ।
कोरोना संक्रमणबाट निधन भएका युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण गरिएको थियो । नरैनापुर क्षेत्रबाट स्वाब संकलन गरिएका २७३ जनामध्ये १९२ जनाको परिक्षण भएको र ८१ जनाको पिसिआर रिपोर्ट आउन अझै बाँकी नै रहेको छ ।
‘सोच्न सक्ने स्थितिमा छैनौं’
नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि थप रणनीति बनाउन नसकेको बताए । उनले भने, ‘सोच्न नसकिने नतिजा आयो । स्थिति भयावह बनेको छ । अब के गर्ने भन्ने सोच्न सकिरहेका छैनौं ।’
गाउँपालिकाले अब कसरी अघि बढ्ने भन्ने ठोस रणनीति र योजना बनाउन नसकेको बताउँदै उनले भने, ‘आफ्नै ज्यान जोगाउनुपर्ने अवस्था आयो । यही अवस्थालाई हेर्दा संक्रमितको संख्या धेरै बढ्न सक्ने देखिन्छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सबै जोखिममा छौं । अब के गर्ने भन्ने विषयमा अध्यक्ष ज्यूले नै सोच्न सक्नुभएको छैन ।’
सूचना अधिकारी मिश्राका अनुसार अझै ७१८ जना क्वारेन्टाइनमा छन् भने भारतबाट मजदुरी गरेर फर्किएका ४५ जना नेपाल–भारत सीमा नाकामा अलपत्र परेका छन् । उनले बनियागाउँमा १६ जना, बहाउपूर्वामा १५ जना घोरदौरीमा ८ जना र ककरदरी नाकामा ६ जना नरैनापुरका नागरिकहरु अलपत्र परेको जानकारी दिए ।
सत्यपाटी ।