कोरोना संक्रमित युवकको मृत्युपछि घटनास्थल आसपास जम्मा भएका स्थानीयहरु । फाइल तस्वीर
बाँके । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा डुबेको छ । सदरमुकाम नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारि अवस्थित सो गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो ।
शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसितसमेत हुन पुगेको स्थानीय सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको बताए । ‘कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुरी छ,’ उनले भने, ‘गाउँपालिकाले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।’
भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ । शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थानदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको शवदहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय गरिएको थियो ।
स्थानीय र परिवारका व्यक्ति शोक र त्रासका कारण अन्त्येष्टिमा सहभागी हुन सकेनन् । शवलाई परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्पराअनुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनले नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ ।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका आधारमा त्यहाँका विभिन्न क्वारेन्टाइनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आज आउने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।युवकको मृत्युपछि नरैनापुरमा क्वारेन्टाइन व्यवस्थापन र स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री पर्याप्तमात्रामा उपलब्ध गराउनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरोकारवाहरुले अपिलसमेत गरेका छन् ।
सत्यपाटी ।