सूचनाको शक्ति - The Power Of Information

        

बिहार र युपीमा कोरोना संक्रमित धेरै, नेपालतिर उत्तिकै जोखिम

नयाँदिल्ली । एकैदिन संक्रमितको संख्या ५ हजारभन्दा माथि पुगेपछि भारतमा २४ घन्टामा कोभिड १९ संक्रमितको नयाँ रेकर्ड बनेको छ । तेस्रो अवधिको लकडाउन सकिँदा आइतवार ५ हजारभन्दा धेरैमा संक्रमण देखिएको हो । भारतको महाराष्ट्रमा मात्र एकैदिन २ हजार ३४७ जना नयाँ संक्रमित थपिए, जुन अहिलेसम्मकै धेरै हो ।

आइतवारमात्रै भारतमा १५४ जनाको मृत्यु भयो, कोरोनाका कारण । एकैदिन कोरोनाका कारण मर्नेको पनि यो सबैभन्दा धेरै संख्या हो । यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ३ हजार २३ पुगेको छ । यो संक्रमितको तुलनामा ३.२ प्रतिशत मृत्युदर हो । मुम्बईमा ३८ जनासहित महाराष्ट्रमा मात्रै ६३ जनाले एकै दिन ज्यान गुमाएका छन् ।

३४ जनाले गुजरातमा ज्यान गुमाएका छन् भने दिल्लीमा १९ जनाले । आइतवारसम्म भारतमा ९५ हजार ६७८ जना कोरोनाबाट संक्रमित भेटिएका छन् । नेपालसँग जोडिएको उत्तर प्रदेशमा एकैदिन २०८ जना संक्रमित भेटिएका छन् । उत्तर प्रदेशमा भेटिएका पछिल्ला संक्रमितमध्ये ७० प्रतिशत श्रमिक मजदूर छन् जो बाहिरबाट त्यहाँ पुगेका हुन् ।

नेपालसँग जोडिएको बिहारमा पनि आइतवार एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण त्यहाँ मर्नेको संख्या ८ पुगेको छ । बिहारमा १०६ नयाँ संक्रमित थपिएका छन् जसमध्ये पटनामा मात्रै ५७ जना रहेका छन् । बाहिरबाट बिहार फर्केका ५६० जनामा संक्रमण देखिएको छ जबकि बिहारमा कूल देखिएका संक्रमित संख्या १ हजार २८४ छ । बाहिरबाट आएका संक्रमितमध्ये दिल्लीका मात्रै २४ प्रतिशत छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १०:३१