सूचनाको शक्ति - The Power Of Information

        

पाँच किलो चामललाई तीन पटक कर

रमेश ऐडी
हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा डेरामा बस्नेले तीनवटा कर तिरेपछि मात्रै खाद्यान्न पाउने भएका छन् । सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ ले विभिन्न शिर्षकका तीनवटा कर तिरेपछि मात्रै डेरामा बस्नेलाई रासन कार्ड दिने भएको छ । रासन कार्ड बनाउनका लागि ५० रुपैयाँ, सिमकोट बजार सरसफाइका लागि ३ सय रुपैयाँ र भाडामा बसे बापत गाउँपालिकालाई प्रतिकोठाको एक सय रुपैयाँका दरले कर बुझाउनु पर्ने व्यवस्था गरेको गरिएको छ । वडा कार्यालयले सिमकोट बजारमा डेरा गरी बसेका र घरधनीलाई यो कर लागु गरेका हो । कार्यालयले तोकेको कर नतिरेसम्म रासन कार्ड नपाइने भएको छ ।
सिमकोटमा बस्दै आएका परिवारले नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाबाट मासिक ५ किलो चामल पाउँदै आएका छन् । ५ किलो चामलका लागि वडा कार्यालयमा तीन प्रकारका कर तिर्नुपर्ने व्यवस्थाले आफूहरु मर्कामा परेको डेरामा बस्नेले गुनासो गरेका छन् । संस्थानको खाद्यान्न पाउन स्थानीय तहलाई कर तिर्नुपर्ने व्यवस्थाले आफूहरु खाद्यान्नका लागि महँगो मूल्यमा परेको उनीहरुले बताएका हुन् । ‘चामल नपाए पनि कार्ड बनाउदा कर तिर्नै पर्छ’ सिमकोटमा डेरा गरी बस्दै आएका लोकबहादुर हमालले भने, ‘स्थानीय तहका प्रतिनीधिले आफ्नो वडाको आम्दानीका लागि सहुलियत मूल्यको खाद्यन्न महँगो बनाए ।’ नेपाल खाद्य संस्थानकले दिने मासिक ५ कलिो चामलका लागि सिमकोट बजारका एक हजार भन्दा बढी डेरावालाले रासन कार्ड बनाएका छन् । साबिक सिमकोट गाविसको कार्यालयले पनि कार्ड बापत शुल्क उठाउँदै आएको थियो । यसपटक वडा कार्यालयले तिर्दै आएको शुल्क बढाए पछि डेरामा बस्ने मर्कामा परेको गुनासो गरेका हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार ०८:०४