सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा आजबाट ओपीडी सेवा सञ्चालन

बाँके । बन्दाबन्दी (लकडाउन)को ५४ औं दिनपछि आजबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ओपीडी सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिनापछि ओपीडी सेवा आंशिकरुपमा सञ्चालनमा आएको हो ।

अस्पतालद्वारा जारी सूचनाअनुसार अन्य आकस्मिक सेवाबाहेक ओपीडी सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । इमर्जेन्सी विभाग, ज्वरो क्लिनिक, प्रसुति सेवा तथा अन्य आकस्मिक सेवाहरुबाहेक अन्य नियमित ओपीडी सेवाहरु सञ्चालन गर्न लागिएको हो । दैनिक सयौंको संख्यामा विरामीको सेवा गर्दै आएको भेरीमा सञ्चालनमा आएको ओपीडी सेवाका लागि शुरुमा ४० जनालाई मात्र सेवा दिन लागेको सूचनामा उल्लेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार हालको लागि प्रत्येक ओपीडीमा प्रतिदिन नयाँ ३० जना र फलोअपका १० जना गरी ४० जना नबढ्ने गरी सेवा प्रवाह गरिनेछ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्दै सेवा प्रवाहित गर्नुपरेकाले आवश्यक सतर्कतासहित आंशिक सेवा सञ्चालन गरिएको उनले बताए ।

भीडभाड कम गर्न विशेष सतर्कता अपनाइएको मेसु डा.थापाले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालले अन्य सेवाहरु पनि विस्तारै सञ्चालन गर्दै लैजानेछ । टिकट काट्न घन्टौ काउन्टरमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न ई–टिकेटिङ्ग सेवा सुरु गर्न लागेको पनि अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ठ चिकित्सक डा.बद्री चापागाईंले भने, ‘छिट्टै ई–सेवामार्फत टिकट काट्न मिल्ने व्यवस्था हुँदैछ ।’

उनकाअनुसार, ई–सेवाको एप्स्मार्फत आफुलाई दर्ता गरेर ओपीडी शुल्क बुझाएपछि सेवाग्राहीलाई एउटा कन्फरमेसन नम्बर प्राप्त हुने र सो कन्फरमेसन नम्बर लिएर अस्पतालको छुट्टै टिकट काउन्टरमा सम्पर्क गरेर विरामीले सहजरुपमा टिकट लिन सक्ने व्यवस्था मिलाउन लागिएको छ । यसबाट सेवाग्राहीले आफुले रोजेको चिकित्सक वा सम्बन्धित युनिटको पालोमा आएर आफ्नो परीक्षण गराउन सक्ने अस्पतालले जनाएको छ ।

बन्दाबन्दीकै बीच भेरीमा इमरजेन्सी सेवा भने नियमित सञ्चालनमा रहेको छ । भेरीमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि कोरोना उपचार र पहिचानको केन्द्रका रुपमा भेरी अस्पताल स्थापित भइरहेको छ । निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.थापाकै नेतृत्वमा खजुरास्थित क्यान्सर अस्पतालमा कोरोना आइसोलेसन अस्पताल सञ्चालन भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार ०८:३६