सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरबाट २६३ जनाको स्वाब संकलन

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका आठ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा आज २६३ जनाको स्वाब संकलन गरिएको छ । नरैनापुरका चार वटा क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले नरैनापुर क्षेत्रबाट अरु थप स्वाब पनि लिइने जानकारी दिए । हिजो कोरोना संक्रमण पुष्टि भएका आठ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाले पहिलो चरणमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको उहाँले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्रकुमार शाहले गाउँपालिकाको वडा नं. २, आदर्श मावि लक्ष्मणपुर क्वारेन्टाइनबाट ८७, वडा नं. ५ नेरा कृष्णा प्रावि हुलासपूर्वा क्वारेन्टाइनबाट ७२, वडा नं. ५ कै दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइनबाट ३९ र वडा नं. ६ को जयकिसान मावि भोजपुर क्वारेन्टाइनबाट ६५ जनाको स्वाब संकलन गरिएको जानकारी दिए ।

भारतबाट आउनेको संख्या बढ्दै गएपछि नरैनापुरमा नरैनपुरमा बनाइएका ११ वटा क्वारेन्टाइनमा ६२६ जनालाई राखिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । उनले भारतबाट आउनेहरु बढ्दै जाँदा क्वारेन्टाइन ब्यवस्थापनमा चुनौती भए पनि गाउँपालिकाले सक्दो प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार २०:१३