सूचनाको शक्ति - The Power Of Information

        

बाँके र प्युठानमा १४ जनाको पिसिआर नेगेटिभ

बाँके । नेपालगन्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेका आरडिटी पर पोजेटिभ देखिएका तीन जनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ । शुक्रबार दिउँसो गरिएको आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण हुँदा गएराति रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज जमुनाह नाका भएर नेपाल आएका ४६६ जनाको आरटिडी गरिएको थियो । सो क्रममा तीन जनाको पोजेटिभ देखिएपछि उनीहरुलाई नेपालगन्जमै आइसोलेशनमा राखेर अन्य नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला र गाउँपालिकाको समन्वयमा सम्बन्धित क्षेत्रमा पठाइएको छ ।

आरडिटी पोजेटिभ देखिएका सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीन जनालाई शुक्रबार नेपालगन्ज खजुरा रोडस्थित लायन्स डेन्टल अस्पतालमा निर्माण गरिएको आइसोलेशन केन्द्रमा राखिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सबन्धित जिल्लामा समन्वय गरेर उनीहरुलाई पनि जिल्ला पठाइने श्रेष्ठले बताए ।

सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीलाई बिहीबार राति नेपालगन्ज ल्याइएको हो । नेपाल प्रवेश गरेका ६८७ नेपालीमध्ये बाँके र बर्दियाका २२१ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको आजदेखि आरडिटी गरिने भएको छ ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कदा सीमा क्षेत्रमा अलपत्र परेका तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी बिहीवार राति नेपाल प्रवेश गराइएको हो ।

सीमा नाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएका थिए भने नेपालबाट करीब एक हजार ४०० भारतीयलाई भारत पठाइएको थियो ।

११ को पिसिआर नेगेटिभ

प्युठानमा पनि आरडिटी गर्दा एन्टीबडी पोजेटिभ देखिएका ११ जनाको स्वाब परीक्षण (पिसिआर) नेगेटिभ आएको छ । प्युठान नगरपालिकाका गुरीगाउँ, धगे र बुढादेवीको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसहितको स्वाब सङ्कलन गरिएको थियो ।

क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । बिहीबार १७ जना र शुक्रबार ११ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।

जिल्लामा हालसम्म ९९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकामा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको आउन बाँकी छ । आठ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार स्वाब पठाइएको छ । त्यसैगरी आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १३ जना सबैको पिसिआर रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार ११:२९