बुटवल । दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै गएपछि प्रदेश ५ मा उपचार र व्यवस्थापनका वैकल्पिक उपायको खोजी हुन थालेको छ । भएका अस्पतालहरूको क्षमता विस्तार गर्ने, थप अस्पताल बनाउने र अन्य अस्पतालहरूलाई खाली गराउने जस्ता उपाय अपनाउन थालिएको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पताललाई क्षमता विस्तार गरेर २०० बेड बनाउने प्रकृया शुरु भएको छ । बाँकेको कोरोना अस्पतालमा पनि बेड बढाइँदैछ भने अहिलेसम्म आशङ्का गरिएका बिरामी मात्र राखिएको दाङ, बेलझुण्डीको कोरोना विशेष अस्पतालमा पनि अब उपचार थालिनेछ ।
उनका भनाइमा अब दाङ र त्यसपश्चिमका सङ्क्रमितलाई बाँके र दाङका अस्पताल तथा दाङपूर्वका जिल्लाका सङ्क्रमितलाई रुपन्देहीमा उपचारको व्यस्थापन हुँदैछ । अस्पतालहरूको क्षमताभन्दा धेरै बिरामी थपिने सङ्केत भएपछि प्रदेश सरकारले अन्य प्रकृतिका अस्पतालहरूमा पनि कोरोनाको उपचार गराउने व्यवस्था थालिएको छ ।
त्यसका लागि भैरहवाको भीम अस्पतालमा रहेका अन्य प्रकृतिका बिरामीलाई भैरहवाकै मेडिकल कलेजमा सारिएको छ । अब भीम अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचार हुनेछ । प्रदेशको कोरोना विपद् व्यवस्थापन केन्द्रले आवश्यकताअनुसार नेपालगन्जका नेपाली सेना र प्रहरीका अस्पताललाई पनि कोरोना उपचारमा प्रयोग गर्न सकिने यसअघि नै निर्णय गरेको थियो ।
बुटवलको कोरोना विशेष अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ । बाँके र बर्दियाका २६ जनालाई नेपालगन्जमा उपचार गरिएको छ । रुपन्देही, कपिलवस्तु तथा नवलपरासी पश्चिमका ६८ जनालाई रुपन्देहीमा व्यवस्थापन गरिँदैछ । भैरहवाको भीम अस्पतालमा २३ जनालाई व्यवस्थापन गरिँदैछ । अहिलेसम्म प्रदेशमा ९४ जनामा सङ्क्रमण पुष्टि भैसकेको छ । स्वाब सङ्कलन गरिएका ४ हजार १२० मध्ये ६४९ जनाको परीक्षण नतिजा आउन बाँकी छ ।
सत्यपाटी ।